सिमरा,अवैध चिरान काठ लोड गरिएको पिकअप गाडीसहित प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । बारागढीस्थित अस्थायी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले करिब ४२ क्युफिट अवैध काठसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
डिभिजन वन अधिकृत राजीवकुमार झाले करैयामाई गाउँपालिका वडा नम्बर ७ पिपराका ४० वर्षीय हरिभजन चौधरी, ३५ वर्षीय रामप्रताप चौधरी र वडा नम्बर ५ तेतरियाका २७ वर्षीय दिपनारायण चौधरीलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । झाका अनुसार ना३च १९०१ नम्बरको पिकअपमा काठ राखेर लैजादै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर वन कार्यालयलाई बुझाएको हो ।तस्करीको काठ लोड गरिएको गाडीलाई मोटरसाइकलमार्फत स्कटिङ गरिरहेका केही व्यक्ति भने फरार भएका छन् । सो क्रममा प्रहरीले एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
करैयामाई गाउँपालिका वडा नम्बर ७ पिपरामा रहेको मिलबाट लोड गरी फर्निचर उद्योगका लागि लैजादै गरेको अवस्थामा काठ नियन्त्रणमा लिइएको झाले जानकारी दिनुभयो । झाका अनुसार सिसौको ७३ थान र सालको ३५ थान चिरान काठ गरी ४१.५८ क्युफिट काठ बरामद गरिएको हो ।पक्राउ परेका तीन जना, पिकअप र बरामद काठलाई डिभिजन वन कार्यालयको नियन्त्रणमा राखिएको र फरार व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
















