डुमरवाना,कृपा दैनिकका डुमरवाना सम्वाददाता एंव सामाजिक अभियान्ता बिदुर खडका सम्मानित हुनुभएको छ । सिमराको औराहस्थित घन्टीमाई बचत तथा ऋण सहकारी संस्थाको शनिबार सम्पन्न साधारण सभामा सम्वाददाता खडकालाई सहकारी पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको हो । जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेलले खडकालाई प्रमाणपत्रसहित दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख डा. पौडेलले महिलाहरुले नेतृत्व गरेको सहकारी संस्थाहरु सफल रहेको बताउनुभएको छ । पुरुषको तुलनामा महिलाहरुमा जिम्मेवारी बहन गर्ने क्षमता बढी भएको र आर्थिक कारोबारमा इमान्दारिताका पाइएकोले महिलाहरुको नेतृत्वमा संचालनमा आएका संस्थाहरु सफल भएको उहाँको भनाइ थियो । उहाँले जीतपुरसिमरामा आफनो मेयरको ४ वर्षे कार्यकालको जनताले सही रुपमा मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो ।
साभारण सभामा अध्यक्ष कोपिला सिम्खडाले संस्थाको प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा सहकारी संस्थाले १६ करोड लगानी रहेको सहकारीले ६० लाख नाफा गरेको जनाइएको छ ।
साधारण सभामा जीतपुरसिमरा उपमहानगरपालिकाकी उपमेयर सरस्वती चौधरी, बारा बतच तथा ऋण सहकारीका अध्यक्ष सतेन्द्र ठाकुरलगायत बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । वक्ताहरुले अध्यक्ष सिम्खडा नेतत्वको टिमलाई धन्यवाद दिएका थिए ।