वीरगञ्ज,वीरगञ्जका व्यापारी प्रेमकुमार जाटियालाई आइतवार पर्सा प्रहरीले पक्राउ गरेको छ । पर्सा जिल्ला अदालतको आदेश अनुसार उनलाई दिउँसो २ बजे लिंकरोडस्थित युनिक फर्मास्युटिकल्सको कार्यालयबाट पक्राउ गरिएको हो। प्रहरी चौकी घण्टाघरका असई लालबाबु यादव नेतृत्वको टोलीले जाटियालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको छ।

२०७१ सालमा वीरगञ्जको छपकैयास्थित श्रीराम कोलोनीमा माटो पुर्ने कामबापत ठेकेदार कम्पनी सत्यम सप्लायर्सलाई पाँच लाख रुपैयाँ नदिएको विवादमा ठेकेदार कम्पनीले अदालतमा मुद्दा दायर गरेको थियो।सो मुद्दामा पर्सा जिल्ला अदालतले २०७१ वैशाख २ गते जाटियालाई ठेकेदार कम्पनीलाई बिगो भराउन आदेश दिएको थियो। तर, बिगो नभरिएपछि अदालतले २०८१ कात्तिक २ गतेको फैसलामा उनलाई छ महिना कैद सजाय तोक्दै बिगो असूल गर्न प्रहरीलाई पत्राचार गरेको थियो।
प्रहरी नायब उपरीक्षक दीपक भारतीले जाटियाको पक्राउ पुष्टि गर्दै कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिनुभएको छ । जाटियाको रियल स्टिल, मैग्नस फर्मास्युटिकल्स, श्रीराम कोलोनी, युनिक फर्मास्युटिकल्सलगायत विभिन्न औद्योगिक प्रतिष्ठानमा लगानी रहेको बताइएको छ।

Leave a Reply