पुष्पराज खतिवडा
बारा,बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड र मोरङ्गको उर्लाबारीस्थित एन्जल फाउण्डेसनको सहकार्यमा एकदिने निःशुल्क गुप्तरोग परीक्षण शिविर सम्पन्न भएको छ ।
शुक्रवार सहकारी संस्थाको बडहर्वा कार्यालयमा आयोजित उक्त शिविरमा ३७ जनाले मलद्वारसम्बन्धी रोगहरूको निःशुल्क परीक्षण गराएका छन ्। फाउण्डेसनको चिकित्सकसहितको प्राविधिक टोलीले फाइल्स (बावासिर), फिसर र फिस्टुलाजस्ता रोगहरूको परीक्षण गरेको हो ।

परीक्षण गरिएका मध्ये १६ जनामा जटिल पाइल्सको समस्या देखिएपछि तत्काल उपचारको सल्लाह दिइएको र तीमध्ये ५ जनाको त्यहीं उपचार समेत गरिएको फाउण्डेसनका महाप्रबन्धक सन्तोष कार्कीले जानकारी दिनुभयो ।
“रोग पहिचान गरिएका बिरामीलाई फाउण्डेसनको निगरानीमा निश्चित शुल्कमा गुणस्तरीय उपचार दिने व्यवस्था गरिएको छ,” कार्कीले भन्नुभयो, “साथै उपचारपछि पनि स्थानीयस्तरमै नियमित फलोअप, औषधि वितरण, सरसफाइ र खानपानसम्बन्धी परामर्शसमेत दिइनेछ ।”

परीक्षणको क्रममा बिरामीहरूलाई रोगको अवस्थाअनुसार तेस्रो, दोस्रो र पहिलो ग्रेडमा वर्गीकृत गरिएको थियो । जटिल (तेस्रो ग्रेड) समस्याका बिरामीले ३० हजार रुपैयाँ र मध्यम (दोस्रो ग्रेड) समस्याका बिरामीले २५ हजार रुपैयाँ किस्ताबन्दीमा तिरेर उपचार गर्न सक्ने व्यवस्था गरिएको छ ।कार्कीका अनुसार उपचारपूर्व गरिने रगतसम्बन्धी आवश्यक परीक्षण भने पूर्णरूपमा निःशुल्क गरिनेछ ।फाउण्डेसनले हाल कोशी प्रदेशका ७, मधेश प्रदेशका ८ तथा वाग्मती प्रदेशको चितवन र मकवानपुर जिल्लासहित १७ जिल्लामा आफ्नो सेवा विस्तार गरिरहेको जानकारी पनि उहाँले दिनुभयो ।यस किसिमका कार्यक्रमले ग्रामीण क्षेत्रमा लुकीछिपी बसिरहेका स्वास्थ्य समस्याको पहिचान र उपचारमा ठुलो सहयोग पु¥याउने विश्वास गरिएको छ ।

Leave a Reply