कलैया,बाराको महागढीमाई नगरापालिका वडा नम्बर १ सेमरा तेगछियामा धारिलो हतियार प्रहार गरी एक स्थानीयको हत्या गरिएको घटनाको अनुसन्धान गर्न बारा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।घटनाको प्रारम्भिक अनुसन्धानका लागि नियन्त्रणमा लिइएकाले उनीहरुको पहिचान भने प्रहरीले खुलाएको छैन । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ ।

महागढीमाई नगरपालिका वडा नम्बर १ सेमरा तेगछियामा शनिवार राती स्थानीय ५० वर्षीय श्रीनारायण यादवको धारिलो हतियार प्रहार गरिएको थियो । उपचारको लागि कलैया अस्पताल ल्याउने क्रममा यादवको बाटोमा नै मृत्यु भएको थियो । मृतकको घाटीमा गहिरो चोट लागेको थियो ।यादवको हत्यापछि महागढीमाईका जनप्रतिनिधिसहित स्थानीय र नेपाली कांग्रेसले कलैयामा विरोध जनाएको छ । घटनाको अनुसन्धान गरी दोषी पत्ता लगाउन माग गर्दै महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादव, कांग्रेस बाराका सचिव भैयाराम यादवलगायतका नेताकार्यकर्ता र स्थानीयले विरोध जनाएका हुन् ।घटनामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै उनीहरुले दोषी पक्राउ नपरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

Leave a Reply