राजकुमार यादव
मौलापुर,लगतार तीन दिनको अरिवल वर्षाका कारण आएको बागमती नदीको बाढीबाट प्रभावित रौतहटको गढीमाई नगरपालिका– ६ सिघारमनका पिडित परिवारलाई विहिबार राहत सामग्री वितरण गरिएको छ ।गढीमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादवले सिघारमनका ६ सय बाढी पीडित परिवारलाई राहत प्रदान गर्ने भएको छ ।
बिहीवार दुई सय भन्दा बढी बाढीबाट प्रभावित घर परिवारलाई तत्कालका लागि आवश्यक खाद्य सामग्री सहयोगस्वरूप प्रदान गर्नुभएको हो । बाढीले क्षतिग्रस्त भएका घरपरिवारलाई प्रतिपरिवार २५ किलो चामल तथा २ किलोको दरले तोरीको तेल, नुन, चिनी, दाल, स्वायविन र चिउरा लगायतका सामग्री वितरण गरिएको हो । उक्त राहत सामग्री च्वाइस नेपालको सहयोग र गढीमाई नगरपालिकाको सहकार्यमा वितरण गरिएको हो । आगामी दिनमा गढीमाई नगरपालिकाका वडा ३ र ७ का बाढीले प्रभावित परिवारलाई राहत वितरण गर्ने नगर प्रमुख यादवले बताउनुभयो ।
बाढीका कारण नगरपालिकाका तीन वडामा ठूलो जनधनको क्षति पुगेको छ । हजारौं हेक्टर खेतबारीमा लगाइएको धान, उखु र तरकारी बालीनाली बाढीले नष्ट गरेको हो । मेयर यादवका अनुसार राहत वितरणको दोस्रो चरणमा थप सहयोग उपलब्ध गराउने योजना बनाइएको छ ।उक्त राहत वितरण कार्यक्रममा च्वाइस नेपालका कार्यकारी निर्देशक किरण न्यौपाने, वडा ६ का वडा अध्यक्ष रामसिहासन यादव तथा वडा सदस्य र नेपाल प्रहरी लगायत विभिन्न दलका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।



















