एजेन्सीहरू,मस्को÷वासिङ्टन — रुसले युक्रेन सहर खेर्सनबाट सैन्य फौज फिर्ता गर्न सुरु गरेको जनाएको छ । केही साताअघि कमान्ड सम्हालेका रुसी जनरल सर्गेई सुरोभिकिनले रुसी सरकारी टेलिभिजनमार्फत खेर्सन क्षेत्रबाट सेना फिर्ताको घोषणा गरेका हुन् । सेनाका शीर्ष अधिकारीसँगै टेलिभिजनमा देखिएका सुरोभिकिनले निप्रो नदीको पश्चिमी किनारबाट रुसी सेना पूर्णरूपमा फिर्ता हुने बताएका हुन् ।

रुसी रक्षा मन्त्रालयले खेर्सनबाट आफ्नो सैन्य फौज फिर्ता भइरहेको जनाएको बीबीसीले उल्लेख गरेको छ । यद्यपि, यसबारेको विस्तृत विवरण तथा तस्बिरहरू भने सार्वजनिक गरिएको छैन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले खेर्सनबाट रुसी सेना फिर्ता हुने निर्णय सकारात्मक भएको र यसले रुसी सेना वास्तविक रूपमा समस्यामा परेको दाबी गरेका छन् । आफूले केही समयअघिदेखि नै यस्तो कदमको अपेक्षा गरेको बाइडेनको दाबी छ । रुसको कदमले दुवै पक्ष युद्धका विषयमा आफ्नो स्थितिको मूल्यांकन गर्ने अवस्था आउने बताएका छन् ।

 

उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) को सदस्यता लिने तयारी गरेपछि रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेको हो । त्यसयता रुसी सेनाले पूर्णरूपमा कब्जा गरेको एक मात्र प्रमुख युक्रेनी सहर खेर्सन हो ।

टेलिभिजन सम्बोधनमा रुसी कमान्डरले अब उक्त सहरका लागि आफूहरूले आवश्यक सामग्री आपूर्ति गर्न सम्भव नभएको बताएका हुन् । सैन्य फिर्तीको घोषणाका बेला भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिन देखिएका थिएनन् ।

पछिल्लो समय युक्रेनी फौजबाट प्रत्याक्रमणको सामना गरिरहेको रुसी फौजका लागि यो निकै ठूलो धक्का मानिएको छ ।

अमेरिकाको मध्यावधि निर्वाचनको नतिजा सार्वजनिक हुँदै गर्दा राष्ट्रपति बाइडेनले ह्वाइटहाउसबाट यसबारे प्रतिक्रिया जनाएका हुन् ।

पछिल्लो नतिजाअनुसार बाइडेनको डेमोक्रेटिक दलले तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा आफ्नो नियन्त्रण गुमाउने देखिएको छ ।

रुसले सैन्य फिर्तीको घोषणा गर्न अमेरिकाको चुनाव कुर्नु आफैंमा एक रोचक घटना भएको बाइडेनको भनाइ छ ।

यसअघि बाइडेनका राजनीतिक प्रतिस्पर्धीहरूले अमेरिकी सैन्य र मानवीय सहायताको विषयमा समीक्षा गर्ने भन्दै युक्रेनलाई प्रतिबद्धता जनाएका थिए ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसको घोषणापछि आफूहरूले निकै सावधानी अपनाइरहेको बताएका छन् ।

‘दुश्मनले हामीलाई उपहार दिँदैनन् । सद्भावनाको संकेत पनि गर्दैनन्,’ उनले भने । बेलायती प्रधानमन्त्री ऋषि सुनकाले पनि रुसी सेना फिर्ताको निर्णय युक्रेनका लागि निकै प्रगतिको विषय भएको बताएका छन् । युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँगको टेलिफोन कुराकानी गर्दै सुनकले ‘उक्त क्षेत्रमा युक्रेनी झण्डा नफहराएसम्म सचेत रहनुपर्ने’ बताएका छन् ।

त्यस्तै, नाटो प्रमुख जेन्स स्टोल्टनबर्गले खेर्सनबाट रुसी सेनाको फिर्ती ‘युक्रेनको जित भएको बताएका छन् । तर उनीहरूको फिर्ती कसरी हुन्छ भन्नेमा आफूहरूले ध्यान दिइरहेको उनको भनाइ छ । ‘रुस हाल निकै ठूलो दबाबमा छ ।

हामीले अबका दिनमा राजनीतिक घटनाक्रमको विकास कसरी हुन्छ भनेर हेर्नुपर्छ,’ उनले भने, ‘यदि तिनीहरूले खेर्सन क्षेत्र छाडे भने यो युक्रेनको अर्को जित हुनेछ,’ बिहीबार इटालीको रोममा बोल्दै उनले भने । युक्रेनी सशस्त्र फौजले रुसी सेनालाई पछि हट्न बाध्य बनाएको र आफ्नो क्षेत्र स्वतन्त्र गराउन सक्षम भएको स्टोल्टेनबर्गले बताए । ‘यी सबै उपलब्धिहरू युक्रेनका साहसी सैनिकहरूका कारण सम्भव भएको हो,’ उनले भने । करिब दुई साताअघि इटालीका प्रधानमन्त्री बनेकी जर्जिया मेलोनीसँगको पहिलो भेटवार्तापछि स्टोल्टेनबर्गको भनाइ सार्वजनिक भएको हो । मेलोनी रुसविरुद्ध प्रतिबन्ध कडा पार्नुपर्ने पक्षमा रहेको जनाइएको छ ।

तर खेर्सनबाट सेना हटाउने घोषणा भएको केही समयमै रुसी सेनाले उक्त क्षेत्रका एक दर्जन गाउँमा नियन्त्रण कायम गरेका अपुष्ट समाचार सार्वजनिक भएका जनाइएको छ । सैन्य घोषणापछि रुसी सैन्य बलका चेचेन सेनाहरू सहर, विभिन्न रेस्टुरेन्ट र सडकहरूमा घुमिरहेका खेर्सनका स्थानीयले बताएका छन् । तर रुसी फौजले आफूहरूलाई फसाउन खोजिरहेको हुन सक्ने युक्रेनी अधिकारीहरूको भनाइ छ ।

पछिल्ला सातामा युक्रेन अगाडि बढ्नमा केही सुस्त भएको थियो । यद्यपि, युक्रेनी क्षेप्यास्त्र आक्रमणका कारण केही पुलहरू ध्वस्त भएका कारण निप्रोमा रुसको आपूर्ति लाइन प्रभावित भएको छ ।

जसका कारण रुसले आफ्ना हजारौं नागरिकलाई डुंगाबाट अन्यत्र सारेको थियो । त्यसका साथै प्रतिकूल मौसमका कारण पनि रुसी सेना तत्कालका लागि पछि हट्न बाध्य भएको कतिपयको भनाइ छ ।

Leave a Reply