कलैया,बाराको फेटा गाउँपालिकामा सोमवार एक विशेष कार्यक्रमको आयोजना गरी गाउँप्रहरीलाई प्रमाणपत्र वितरण गरिएको छ। तालिम पूरा गरेर फर्किएका गाउँप्रहरीहरूलाई गाउँपालिकाको शान्ति सुरक्षामा खटाउनका लागि विधिवत रूपमा प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।
गाउँप्रहरीहरूलाई गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले टीकालगाई प्रमाणपत्र वितरण गर्नुभएको थियो।प्रमाणपत्र प्राप्त गरेका गाउँप्रहरीहरूले सोमवारदेखि गाउँपालिकाको शान्ति सुरक्षा कायम गर्न आफ्नो जिम्मेवारी सम्हाल्नेछन्।
कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले गाउँप्रहरीहरूले इमानदारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। साथै उहाँले शान्ति सुरक्षा कायम राख्नका लागि गाउँप्रहरीलाई आवश्यक निर्देशनसमेत दिनुभयो ।कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गौरिशंकर कुमार सिंह, गाउँपालिका कर्मचारी तथा स्थानिय नेताहरुको उपस्थिति रहेको थियो।
गाउँप्रहरीले अब गाउँपालिकाभित्र शान्ति सुरक्षा मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखिएको छ।


















