सर्लाही,हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन अन्तर्गत सर्लाही र महोत्तरी खण्डमा धमाधम काम हुन थालेको छ ।यी दुई जिल्लाको विशेष गरी जङ्गल क्षेत्रमा तार विस्तारको कामले गति लिएको हो । सर्लाहीको फूलजोर चोकदेखि पूर्व र महोत्तरीको बर्दिबासदेखि पश्चिमतर्फको जङ्गलमा काम जारी रहेको हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण आयोजना ढल्केबर कार्यालयका प्रमुख श्याम यादवले जानकारी दिनुभयो ।
जङ्गल क्षेत्रमा प्रसारण लाइनको टावर निर्माण भइसकेको छ । ती टावरमा अहिले इन्सुलेटर जडान गर्ने र तार तान्ने काम भइरहेको आयोजनाले जनाएको छ । प्रसारण लाइनको टावरमा राख्नका लागि पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाही र महोत्तरी खण्डको जङ्गल क्षेत्रका ठाउँ ठाउँमा इन्सुलेटरको पोका झारिएका छन ।
आयोजना प्रमुख यादवका अनुसार जनशक्तिलाई दुई जिल्लाको जङ्गल क्षेत्रमा ‘फोकस’ गरेर खटाइएको छ । प्रसारण लाइनको लालबन्दी नगरपालिका– १२, जियाजोर क्षेत्रमा बाँकी रहेको टावर निर्माण गर्ने काम अन्तिम चरणमा पुगिसकेको आयोजना प्रमुख यादवले बताउनुभयो ।जग्गाको मुआब्जा वितरणको विषयलाई लिएर स्थानीयबाट अवरोध हुँदा सात वर्षदेखि जियाजोर क्षेत्रमा काम रोकिएको थियो । सो आयोजनाका अनुसार यस ठाउँमा आठ वटा टावरको जग खन्न बाँकी थियो भने तीन वटा टावरको जग राखिसकेको थियो । विगत डेढ महिनादेखि सुरक्षाकर्मीको सहयोग लिएर बाँकी टावर निर्माणको काम पूरा हुन लागेको छ तर मुआब्जाको विवाद भने अझै मिलिसकेको छैन । जियाजोरका स्थानीयले तार पर्ने जग्गाको उचित मुआब्जा दिनुपर्ने माग गर्दै आइरहेका छन । मुआब्जाको विषयमा प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा अधिकारी, आयोजनाका अधिकारी, जनप्रतिनिधि र स्थानीय बासिन्दाबिच पटक पटक छलफल भए पनि सहमति भने जुट्न सकेको छैन ।


















