सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाले पालिकाभित्र दर्ता भएका र निष्कृय रहेका २८ वटा सहकारी संस्थालाई ३५ दिनभित्र सम्पर्कमा आउन सूचना जारी गरेको छ ।उपमहानगरपालिकाभित्र रहेका ९९ सहकारी संस्थामध्ये २८ सहकारी संस्था नियमित नरहेको भन्दै कार्यालयले शुक्रवार सूचना जारी गरेर सम्पर्कमा आउन भनेको हो । उपमहानगरपालिकाको सहकारी शाखा प्रमुख सुधन चौधरीले पटकपटक तोकता गर्दा पनि सम्पर्कमा नआएका, अनुगमनमा जाँदा कार्यालय नभेटिएका, विवरण पेश नगरेका सहकारी संस्थालाई सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको बताउनुभयो ।
३५ दिनभित्र उपमहानगरपालिकाको सहकारी शाखाको सम्पर्कमा नआएका सहकारी संस्थालाई सहकारी ऐन २०७५ को दफा ६९ को उपदफा ३ बमोजिम कारबाही हुने समेत सूचनामा उल्लेख छ । उपमहानगरपालिकाले जारी गरेको सूचनामा १२ वटा कृषी, १२ वटा बचत तथा ऋण र पशुपालन, बहुउदेश्यीय, दुग्ध उत्पादक र संचार सहकारी एक÷एक वटा रहेका छन् ।
यता उपमहानगरपालिकाले सार्वजनिक गरेको २८ सहकारीको सूचीमा यसअघि नै एकीकरण भएका सहकारी संस्थाको नाम समेत परेको छ । डुमरवानाको जोर्लाइमाई बचत तथा ऋण सहकारी संस्था र हातेमालो बचत तथा ऋण सहकारी संस्थाबीच २०७३ सालमै एकीकरण भएको थियो । तर उपमहानगरपालिकाले जोर्लाईमाईलाई पनि सम्पर्कमा आउन भनेको छ । एकीकरणपश्चात हातेमालोले डुमरवानाको जोर्लाइमाईमा सेवा केन्द्र विस्तार गरेर सेवा प्रवाह गर्दैआएको छ ।


















