कृष्ण मोहन साह
सेढवा,लामो समयको प्रतीक्षापछि ठोरी गाउँपालिकास्थित ठोरी छोटी भन्सारको स्तरोन्नति हुने भएको छ ।गाउँपालिकाको वडा नम्बर २ मा रहेको ठोरी छोटी भन्सार आगामी माघ २७ गते शनिवार एक कार्यक्रमका बीच अर्थमन्त्री प्रकाशशरण महतले स्तरोन्नतिको घोषणा गर्नुहुने भएको छ । अर्थमन्त्री महतसहित अर्थमन्त्रालयका अन्य दुई सचिव तथा भन्सार विभाग प्रमुखको उपस्थितिमा ठोरी छोटी भन्सारको स्तरोन्नतिको घोषणा हुने कार्यक्रम तय भएको ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

ठोरी गाउँपालिका र माडी नगरपालिकाको संयुक्त बैठकले ठोरी छोटी भन्सारको स्तरोन्नति गर्न संयुक्त पहल गर्ने निर्णय गरेसँगै अर्थमन्त्रालय र भन्सार विभागले ठोरी छोटी भन्सारलाई स्तरोन्नति गर्न चासो देखाएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
ठोरीछोटी भन्सारको स्तरोन्नति घोषणा सभाका दिन ठोरीमा सक्रिय रहेका सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, शिक्षक, व्यवसायी लगायत सम्पूर्ण ठोरीबासीलाई उपस्थित हुनको लागि अध्यक्ष श्रेष्ठले आग्रह गर्नुभएको छ ।
ठोरी भन्सारको स्तरोन्नति हुने खबरले ठोरीबासी खुसी भएका छन् । लामो समयदेखि बन्द रहेको भन्सार चल्ने, भारतीय पर्यटकहरुलाई नेपालको जुनसुकै स्थानमा आवागमनमा समेत गाडीको भन्सार पास बनाएर लैजाने सुविधा उपलब्ध हुनेभएको हुँदा पर्यटनमा समेत यस कार्यले प्रत्यक्ष टेवा पुग्ने स्थानीयबासीहरुले अपेक्षा गरेका छन ।



















