निजगढ,नजिकिदै गरेको विजया दशमी, दिपावली तथा छठ पर्वमा निजगढ नगरपालिकाभित्र हुनसक्ने जुवा, तासका घटनालाई निरुत्साहित गर्न सुरक्षाकर्मीले नियमित रुपमा विशेष गस्ति व्यवस्था मिलाउने भएका छन ।निजगढ नगरपालिकाले आइतवार आयोजना गरेको सुरक्षा सम्बन्धि सर्वपक्षीय बैठकले चाडबाडको समयमा हुनसक्ने जुवा, ताससहित अन्य गैह्कानुनी क्रियाकलाप नियन्त्रण गर्न सुरक्षाकर्मीले विशेष प्रबन्ध गर्ने निर्णय गरेको हो ।

त्यसैगरी विशेष गरि बेलुकाको समयमा मदिरा बिक्री वितरण गर्ने स्थानहरुमा सुरक्षाकर्मीहरुद्धारा आवश्यकता अनुसार गस्तिको व्यवस्था मिलाउने तथा सोको लागि होटल व्यवसायीहरुले पनि आफै सजग र सचेत भएर आफ्नो व्यवसाय सञ्चालन गर्ने निर्णय भएको हो ।बैठकमा शंभावित सुरक्षा चुनौति तथा सबै खालको दुर्घटना र अपराधिक क्रियाकलाप न्यूनीकरण गर्न नगरपालिकाभित्र सुरक्षा संयन्त्रलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने र सोको लागि सबै पक्षले आवश्यक सहयोग गर्ने पनि निर्णय भएको छ ।

बैठकले सवारी साधन चलाउँदा यात्रुले सुरक्षा नियम पालन गर्नुपर्ने र सुरक्षाकर्मीहरुले चेकजाँच गरी ट्राफिक नियम पालना गर्ने व्यवस्था लगाउनेलगायत पनि निर्णय भएको छ ।सुरक्षा सम्बेदनशील स्थानहरुमा सुरक्षा गस्ति मिलाउने, सुरक्षाको दृष्टिकोणले छिटो, छरितो रुपमा सेवा प्रवाह गर्ने र उपलव्ध भएसम्म आधुनिक प्रविधिको प्रयोग गर्ने र त्यसको लागि लोकेसन ट्याक, सुरक्षा अवस्था बारे निगरानी र स्थानीयसंग नियमित सम्पर्क स्थापित गर्ने जस्ता कुराहरुको व्यवस्था मिलाउने पनि निर्णय भएको छ ।

निजगढ नगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने महेन्द्र राजमार्ग तथा नगरका अन्य भित्री सडकहरुमा क्षेत्रमा रहेका बिजुलीका पोलहरुमा ट्राफिक सुरक्षासम्बन्धि विशेष चिन्ह र साधनहरुको प्रयोग गर्ने तथा सुरक्षा विशेष सचेतनामूलक कार्य संञ्चालन गर्ने व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ ।निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा भएको सो बैठकमा वडा नम्बर ८ का वडा अध्यक्ष सोनु लामा, कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिव देवकोटा, कार्यालयका अधिकृत अजय उप्रती, निजगढ उद्योग बाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, होटल व्यवसायी संघका निजगढ अध्यक्ष रामकृष्ण काफ्ले, सुरक्षा निकायका स्थानीय प्रमुखहरु, विभिन्न राजनीतिक दलका अध्यक्ष र प्रतिनिधिहरु, व्यवसायी, नगर प्रहरी तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।चाडबाडको समयमा नगर क्षेत्रभित्र देखा पर्ने सुरक्षा चुनौति तथा त्यसको हल गर्न र सुरक्षा व्यवस्था बलियो पार्न सहभागीहरुले दिएको सुझावको आधारमा बैठकले निर्णय गरेको अधिकृत उप्रेतीले जानकारी दिनुभयो ।

Leave a Reply