कलैया – रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका बारा जिल्लाका २८ जनामध्ये हालसम्म तीन जना सम्पर्कमा आएका छन् । सम्पर्कमा आउनेहरूमा बारा जिल्लाको कलैया उपमहानगरपालिका– २२ धोघा निवासी सत्यप्रकाश राम, सुवर्ण गाउँपालिका– ३ निवासी शिक्षक रुपेश गुप्ता र जीतपुरसिमरा उपमहानगरपालिका– १२ निवासी नेपाली सेनामा कार्यरत रोहित कुमार साह रहेका छन् ।

 

जिल्ला प्रशासन कार्यालय बाराका अनुसार सत्यप्रकाश राम घर फर्किसक्नुभएको छ भने शिक्षक गुप्ता र नेपाली सेनाका जवान साह पनि परिवार तथा आफन्तको सम्पर्कमा आइसक्नुभएको छ । बाढीपछि बाराका विभिन्न स्थानीय तहका अझै २५ जना सम्पर्कविहीन रहेका छन् । उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । बाराबाट रसुवा पुगेका नागरिकको अवस्था पहिचान गर्न सुरक्षा निकायसँग समन्वय गरी खोजी भइरहेको प्रशासनले जनाएको छ ।

 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका टोली उद्धार तथा खोजीमा परिचालित छन् ।
परिवार तथा आफन्तबाट प्राप्त सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय बाराले सम्पर्कविहीन नागरिकको विवरण संकलन र अद्यावधिक गरिरहेको हो ।

Leave a Reply