निजगढ,मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले निजगढ ९ स्थित सामुदायिक अस्पताल (प्रसुति गृह)को मंगलवार निरीक्षण गर्नुभएको छ ।मुख्यमन्त्री यादवले गत कार्तिक २६ गते राती लक्ष्मी पूजाको दिन आगलागीबाट क्षति भएको प्रयोगशालासहित अस्पतालको बिरामी उपचार कक्ष, शल्यक्रिया कक्ष र फार्मेसीको निरीक्षण गर्नुभएको हो ।निरीक्षणपछि मुख्यमन्त्री यादवले आगलागीबाट भएको क्षतिको विवरण आफूले प्राप्त गरिसकेको र अस्पतालमा ल्याब स्थापना गर्न तत्काल सहयोग गर्ने बताउनुभएको छ । ‘सामग्री उपलब्ध गराउन विभागीय मन्त्रीलाई निर्देशन दिएको छु, उहाँले भन्नुभयो, क्षति भएको २८ लाख बराबरको सामग्री प्रदेश सरकारले सहयोग गर्नेछ ।’ उहाँले अस्पतालको नयाँ भवन निर्माण गर्न र अन्य क्षेत्रमा पनि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभएको छ ।निजगढ नगरपालिका नगर प्रमुख सुरथ पुरी र अस्पतालका प्रमुख चिकित्सक सतिश निरौलाले मुख्यमन्त्री यादवलाई आगलागीबाट भएको क्षतिको विवरण र अस्पतालको अवस्थाबारे जानकारी गराउनुभएको थियो । नगरपालिकाका प्रमुख पुरीले ल्याब बन्द हुँदा अस्पतालको सेवा प्रभावित हुदै आएकोले तत्काल सामग्री उपलब्ध गराउन मुख्यमन्त्री यादवसंग आग्रह गर्नुभएको थियो ।सो अवसरमा अस्पताल संचालक समितिका अध्यक्ष माधव न्यौपाने, समाजसेवी नारायण खडका, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।लक्ष्मी पूजाको साँझ अस्पतालको ल्याब कक्षमा विद्युत सर्ट हुँदा भएको आगलागीमा परेर करिब २९ लाख रुपैया बराबरको क्षति भएको थियो । सोहि कारण निजगढ नगरपालिकाका प्रमुख पुरीले मुख्यमन्त्री यादवलाई क्षतिको निरीक्षण र सहयोगको लागि आग्रह गर्नुभएको थियो ।यसअघि गत हप्ता अस्पताल संचालक समितिका अध्यक्ष माधव न्यौपानेको नेतृत्वमा मधेस प्रदेश सभा सदस्य मिना लामासहित निजगढका सबै राजनीतिक दलका प्रमुख र प्रतिनिधि सम्मिलित एउटा सर्वदलीय टोलीले मुख्यमन्त्री यादवलाई जनकपुरमा भेटेर आगीबाट भएको क्षति बारे जानकारी गराएको थियो ।


















