निजगढ,श्रीमतीलाई खुर्पाले हानेर हत्या गरेको आरोपमा पक्राउ परेका निजगढ नगरपालिका ९ बिमलकुमार बस्नेतलाई जिल्ला अदालत बाराले पुर्पक्षको लागि कारागार पठाउने निर्णय गरेको छ ।बुधवार भएको थुनछेक बहसपछि अदालतले बस्नेतलाई वीरगञ्ज कारागार पठाउने निर्णय सुनाएको थियो । स्थानीय किरन राईको जाहेरीमा प्रहरीव्दारा कर्तव्य ज्यान मुद्दामा कारबाहीको लागि जिल्ला सरकारी वकिलमार्फत अभियोजन पत्र दर्ता गरिएको थियो ।

एक महिनाअघि ४० वर्षिय श्रीमती लक्ष्मी राईको हत्या गरेको आरोपमा बस्नेत पक्राउ परेका थिए । सप्तरीको राजविराज घर भइ निजगढ ९ स्थित ससुरालीमा बस्दै आएका ४५ वर्षिय बस्नेतले इन्टरनेटमा पैसा हाल्न दवाव दिएको झोकमा धारिलो हतियार खुर्पा प्रहार गरी श्रीमती लक्ष्मीको हत्या गरेका थिए ।

घटनामा लक्ष्मीकी २ छोरीहरु १८ वर्षिय गंगा र १५ वर्षिय जमुना पनि घाइते भएका थिए । आमामाथि आक्रमण गर्न थालेपछि बचाउन गएकी छोरी गंगाको हातको पञ्जा काटिएको थियो ।बस्नेत र लक्ष्मी घरजम गरेर ३ वर्षदेखि निजगढस्थित ससुरालीमा बस्दै आएका थिए । ४ वर्षअघि मजदुरी गर्न काठमाण्डौं गएको बेला सम्पर्क भएपछि लक्ष्मीले बस्नेतलाई दोस्रो श्रीमानको रुपमा माईतीमा ल्याएर राखेकी हुन । लक्ष्मीले दोस्रो बिहे गरेपछि पहिलो श्रीमानले भने घर छोडका थिए । लक्ष्मीको पहिलो श्रीमानबाट २ छोरी र १ छोरा छन ।

Leave a Reply