काठमाण्डौ – क्यानडामा भइरहेको त्रिदेशीय टि–ट्वान्टी शृङ्खलामा नेपालले ओमानलाई हराएको छ । किङ सिटीमा सोमवार बिहान सकिएको खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको हो ।नेपालले दिएको एक सय ७७ रनको लक्ष्य पछ्याएको ओमान १९ ओभर एक बलमा एक सय ३९ रन बनाउँदै अल आउट भयो । ओमानका लागि सोयब खानले सर्वाधिक ४५ तथा रन बनाए । नेपालका करण केसीले तीन विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ७६ रन बनाएको थियो । नेपालका लागि गुलशन झाले नट आउट रहँदै सर्वाधिक ४० रन बनाए । ओमानका कप्तान अकिब इल्यासले तीन विकेट लिए ।यो शृङ्खलाको पहिलो खेलमा अस्ति शनिवार नेपाल घरेलु टोलीसँग १४ रनले पराजित भएको थियो । नेपालले तेस्रो खेलमा भोलि क्यानडासँग र चौथो खेलमा बुधवार फेरि ओमानसँग खेल्नेछ ।