रौतहट,रौतहटको राजपुर नगरपालिकाको दुई वटा वडामा फैलिएको हैजा नियन्त्रण हुँदै गएको छ । स्थानीय प्रशासन र स्वास्थ्यकर्मीहरुको निरन्तर निगरानीका कारण हैजा नियन्त्रण हुने क्रममा रहेको हो ।एक सातादेखि फैलिएको हैजाको कारण सो क्षेत्रमा कुनै मानवीय क्षति हुन पाएको छैन । हैजाको प्रकोप अन्य समुदायमा फैलिन नदिन रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गत असोज ६ गते एक सूचना जारी गर्दै वडा ४ लाई निषेधित क्षेत्र घोषणा गर्नुभएको थियो । वडा नम्बर ४ स्थित जोबैर चौक देखी मदनी चौक, शेख अब्दुल्लाहको खलीहान देखि डाक्टर नुरुल होदाको घरसम्मको वरिपरि क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको थियो । अत्यावश्यक बाहेक सवारीसाधनमा रोकसँगै उक्त क्षेत्रमा माछा मासु ओसारपसार, बिक्री वितरण गर्न निषेध गरिएको थियो ।
प्रजिअ रेग्मी, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईँ राष्ट्रिय अनुसन्धानका एसपी अभिनयकुमार सिंह सहित सुरक्षा अधिकारीको टोली हैजा प्रभावित क्षेत्रमा स्थलगत अनुगमन निरीक्षण गरेपछि निषेधित क्षेत्र घोषणा गरिएको हो ।गत साउन २ गतेबाट राजपुर ४ मा १ जना बिरामीबाट सुरु भएको हैजा ६ गतेसम्म वडा ३ मा समेत गरी ६० जना भन्दा बढी महिला, पुरुष बालबालिकामा लागेपछि नगरपालिकाको अनुरोधमा वडा ४ लाई निषेधित गरिएको प्रजिअ रेग्मीले बताउनुभएको थियो ।
सबै बिरामीलाई राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखेर उपचार गरिएको नगर स्वास्थ्य संयोजक खुर्शैद आलमले जानकारी दिनुभएको छ ।राजापुरका मेयर राजिक आलमको पहलमा गत ६ गते नै प्रादेशिक अस्पताल गौरको व्यवस्थापन समितिका अध्यक्ष अनवर हासमी सहित मेडिकल सुपरिेन्डेन्ट डाक्टर मुरारी ठाकुरको नेतृत्वमा आवश्यक औषधि सहित डाक्टरको टोली हैजा प्रभावित क्षेत्रमा पुगेको थियो ।डाक्टर तथा स्वास्थ्यकर्मीको अथक प्रयासबाट हैजा प्रभावित ६० जना भन्दा बढी बिरामी क्रमशः निको हुँदै घर फर्किसकेका स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले बताउनुभएको छ ।
प्रमुख साहका अनुसार हाल प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा मात्र १ जना हैजा सङ्क्रमित महिलाको उपचार भइरहेको छ अन्य सबै निको भएर आआफ्नो घरमा फर्किसकेका छन् ।दूषित खाने पानीको प्रयोगले राजापुरको दुईवटा वडामा हैजा रोग फैलिएको हुनसक्ने डाक्टरहरूको प्रारम्भिक अनुमान रहेको छ ।


















