ठोरी,पर्सामा गुणस्तरीय स्वास्थ्य सेवाको कार्यसम्पादनमा ठोरी गाँउपालिका प्रथम भएको छ ।
वीरगञ्जमा आयोजित स्वास्थ्य कार्यालय पर्साको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीमा गुणस्तरीय स्वास्थ्य सेवाको कार्य सम्पादनमा जिल्लाका १४ वटै पालिकामध्ये ठोरीले प्रथम स्थान हासिल गरेको घोषणा गरिएको हो ।
गत आर्थिक वर्षमा स्वास्थ्य कार्यालय पर्सामार्फत सञ्चालित कार्यक्रमहरूमा पालिकाका स्वास्थ्य शाखाले हासिल गरेका प्रगतिको समीक्षा र मूल्यांकन गर्दा ठोरी गाउँपालिकाले प्रथम स्थान हासिल गरेको जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताउनुभयो । त्यस्तै जगरनाथपुर गाँउपालिकाले दोस्रो र सखुवा प्रसौनी गाउँपालिकाले तेस्रो स्थान प्राप्त गरेको ठाकुरले जानकारी दिनुभयो ।गोष्ठीको समापन कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर सन्जय ठाकुरले पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल पालिकाका स्वास्थ्य शाखा प्रमुखलाई प्रमाणपत्र प्रदान गर्दै सम्मानित गर्नुभएको थियो । सो अवसरमा सचिव डा. ठाकुरले कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिने हो र उनीहरूको हौसला बढाइदिने हो भने स्वतः सुशासन कायम हुने बताउनुभयो ।

काम गर्ने वातावरण भएन र उनीहरूको मनोबल बढाउने काम भएन भने कर्मचारीको काम गर्ने जाँगर नै मर्ने भएकाले त्यसले कार्यसम्पादनको नतीजामा नकरात्मक प्रभाव देखिने उहाँको भनाई थियो ।दुई दिने समीक्षा गोष्ठीमा पर्सामा स्वास्थ्यका क्षेत्रमा भएका प्रगतिको समीक्षा गर्दै आगामी आर्थिक वर्षका लागि स्वास्थ्यका क्षेत्रमा गरिने कार्यक्रमको योजना निर्माणमा समेत छलफल भएको जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिनुभएको छ ।

Leave a Reply