अनिल तिवारी
सिमरा –  जीतपुरसिमरा उपमहानगरपालिकाले कोरोना भाईरसको सम्भावित संक्रमणलाई नियन्त्रण गर्न एक सय शैयाको क्वारेन्टाईन र आईसोलेन सेन्टरको पूर्वाधारको काम सुरु गरेको छ । तीन दिनमा निर्माण गर्ने गरी उपमहानगरको नेतृत्वमा जीतपुरसिमरा २ स्थित बन्द अवस्थामा रहेको गार्मेन्ट उद्योगमा कोरोना उपचार केन्द्रको पूर्वाधार तयार पार्न थालिएको हो । उपचार केन्द्र बनाउनका लागि उपमहानगरको नेतृत्वमा शनिवार एक दशकदेखी बन्द अवस्थामा रहेको उद्योगको भवनमा सरसफाई समेत गरिएको छ ।

 

 

 

 

उपमहानगरको नेतृत्वमा बन्न लागेको उपचार केन्द्रमा राजनितिक दल, प्रशासन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ, होटल तथा पर्यटन ब्यवसायी संघ, रेडक्रस सोसाईटी, उद्योग, विभिन्न सामाजिक संघसंस्थाले प्रत्यक्ष सहभागिता जनाएका छन् । उद्योगको भवनमा पूर्वाधार निर्माण गरी कोरोनाको संक्रमणलाई नियन्त्रण गर्न तयारी अवस्थामा रहने उपमहानगरका नगर प्रमुख डा. कृष्ण पौडेलले बताए ।

 

 

 

 

सम्भावित संक्रमणको जोखिमलाई रोक्न पूर्वतयारीको काम सुरु गरेका छौ । अहिले एक सय शैयाको क्वारेन्टाईन र आईसोलेशन सेन्टर निर्माण गर्न लागेका छौ’ नगर प्रमुख डा. पौडेलले भने ‘उपचार केन्द्र निर्माणका लागि सुरक्षा निकायसहित विभिन्न संघसंस्थाबाट सहयोग पाईरहेका छौ । हामी केही दिनमै कोरोनाविरुद्ध लड्न तयारी हुनेछौ ।’
क्वारेन्टाईन र आईसोलेशन सेन्टरलाई सहयोग गर्न विभिन्न उद्योगले समेत चासो देखाएका छन् । उपचार केन्द्रको पूर्वाधार नेपाली सेना र उपमहानगरपालिकाको स्वास्थ्य शाखाका चिकित्सकको सल्लाहअनुसार निर्माण हुन लागेको छ । उपचार केन्द्रमा सेना र उपमहानगरका चिकित्सकले विरामीलाई सेवा प्रदान गर्नेछन् ।

 

 

 

 

 

उपचार केन्द्रको पूर्वाधार निर्माणका उपमहानगरले काम सुरु गरेपनि नगरबासी समेत उत्साहित भएका छन् । केन्द्रको पूर्वाधार निर्माण र सरफाईमा स्थानिय समेत जुटिरहेका छन् । उपमहानगरका प्रमुख डा. पौडेलले विभिन्न संघसंस्था र स्थानियको साथ सहयोगले थप हौसला मिलेको बताए ।

 

 

 

 

 

 

 

उपमहानगरले यसअघि कोरोना संक्रमण फैलन नदिन सचेतना अभियान अन्तर्गत सिमरा विमानस्थलमा हेल्थ डेक्स स्थापना गरेको थियो । विमानस्थलमा आवतजावत गर्ने यात्रुलाई कोरोनाको संक्रमणबाट जोगिने उपायका बारेमा यात्रुलाई जानकारी गराउन स्वास्थ्य शाखाका कर्मचारी खटाएको थियो । यसैगरी उपमहानगरको वडा नं. १ र २ ले सडकमै हेल्थ डेक्स र सचेतना अभियान संचालन गरिरहेको छ ।

Leave a Reply