निजगढ,निजगढ नगरपलिका वडा नम्बर ७ मा आफ्नै ठुलोबुबालाई खुर्पा प्रहार गरी घाइते तुल्याउने एकजना किशोरलाई प्रहरीले आइतवार पक्राउ गरेको छ ।निजगढ नगरपालिका वडा नम्बर ७ स्कुल टोल घर भएका केदारप्रसाद तिमल्सिनामाथि ज्यान मार्ने उद्देश्यले खुर्पा प्रहार गर्ने वडा नम्बर ८ का १८ वर्षीय भजिता रिसभलाई निजगढ प्रहरीले हतियारसहित पक्राउ गरेको हो ।

कोठाभित्र ओछ्यानमा सुतेर मोबाइल हेर्दै गरेको बेला घरमा पुगेका रिसभले आफूमाथि एकाएक खुर्पाले प्रहार गरेको घाइते केदारले बताउनुभएको छ । आक्रमणबाट उहाँको टाउको, दाँया हात र तिघ्रामा गहिरो चोट लागेको छ । घरबाहिरबाट नै आमा खोई भन्दै भित्र पसेका रिसभले भान्सा कोठामा राखेको खुर्पा निकालेर प्रहार गरेका हुन । रिसभलाई छिमेकीहरुले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका हुन ।

लागू औषधको कुलतमा फसेका रिसभ तिन महिनासम्म सुधार केन्द्रमा बसेर केही दिनअघि मात्रै घर फर्किएका थिए । सुधार केन्द्रमा भर्ना गर्न ठुलोबुबा केदारले विदेशमा रहेका आफ्नो बुबालाई सुझाब दिएको र आफूलाई सुधार केन्द्रमा राखिएको झोकमा आक्रमण गरेको बताइएको छ ।घाइते केदारको सामुदायिक अस्पताल प्रसुति गृह निजगढमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । पक्राउ परेका रिसभमाथि अनुसन्धान भइरहेको निजगढ प्रहरीले जनाएको छ ।

Leave a Reply