बसन्त लामा
सिंगौल,निजगढ नगरपालिका– ३ स्थित टासिधार्गेलिङ बौद्ध गुम्बामा यस वर्ष आयोजना हुन लागेको ४१औँ गुम्बा मेला भव्य र ऐतिहासिक हुने अपेक्षा गरिएको छ ।तामाङ समुदायको सांस्कृतिक, धार्मिक र सामाजिक पहिचानसँग जोडिएको यो मेला हरेक वर्ष कार्तिक पूर्णिमाको अवसरमा ५ दिनसम्म लाग्दैआएको छ ।

गुम्बा मेला कार्तिक १६ गतेदेखि २० गतेसम्म सञ्चालन हुनेछ । मेलाको उद्घाटन निजगढ नगरपालिकाका प्रमुख मेयर सुरथ पुरीले गर्ने गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सुकराम जिम्बा (ज्ञानु) ले जानकारी दिनुभयो । उहाँका अनुसार यसपटकको मेला स्थानीय सहभागिता, मनोरञ्जन र धार्मिक श्रद्धा तीनै दृष्टिले विशेष हुने अपेक्षा गरिएको छ ।
मेलालाई आकर्षक र मनोरञ्जनपूर्ण बनाउन समितिले यसपटक चर्चित राष्ट्रिय कलाकारहरू दीपक बज्राचार्य एण्ड द रिदम ब्यान्ड, पछिल्लो पुस्ताका लोकप्रिय गायक कुमा सागर, चर्चित र्यापर मिस्टर डी (सन्दीप विष्ट) र लाहुरे (आशिष राणा) लगायतका स्थानीय कलाकारहरूले प्रस्तुति दिनेछन ।

मेला व्यवस्थापन समितिका अध्यक्ष सन्जिव योञ्जनले मेलामा संगीत कार्यक्रमसंगै मनोरञ्जनका विभिन्न क्रियाकलापहरू पनि संचालन गरिनेछ । उहाँका अनुसार मेलास्थलमा रोटेपिङ, मौतका कुवाँ, जम्पिङ, कोलम्बस सवारी लगायतका मनोरञ्जन सामग्रीको धमाधम सेटअप भइरहेको छ । यस बाहेक बालबालिका लक्षित खेल सामग्री, स्थानीय परिकारका स्टलहरू, फोटो स्पटहरू र परम्परागत झाँकी प्रदर्शनहरू पनि हुनेछन ।यसपटक मेलामा व्यवसायी तथा स्थानीय होटल सञ्चालकहरूका लागि स्टल वितरण कार्तिक १६ गते बिहानदेखि गरिनेछ ।

मेलाको अवधिभर शान्ति सुरक्षाको व्यवस्था कडाइका साथ गर्ने तयारी भइरहेको समितिले जनाएको छ । यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सुरक्षा समितिहरूसँग समन्वय गरी सुरक्षात्मक योजना तयार पारिएको जनाइएको छ । सुरक्षा व्यवस्थापनका साथै सरसफाइ, ट्राफिक व्यवस्थापन, स्वास्थ्य सेवा र आपतकालीन उद्धार टोली पनि सक्रिय रहने मेला व्यवस्थापन समितिले जनाएको छ ।तामाङ समुदायमा कार्तिक पूर्णिमा र चैत्र पूर्णिमाको अवसरमा दिवंगत पितृहरूको सम्झनामा गुम्बा र चैत्यमा दीपप्रज्वलन र पूजापाठ गर्ने परम्परा रहिआएको छ ।यस अवसरमा बारासँगै छिमेकी जिल्ला मकवानपुर, रौतहट, पर्सा र सिन्धुली लगायतका स्थानबाट भक्तजन र मेलाप्रेमीहरूको ठूलो घुँइचो लाग्ने गरेको छ । फोटो पनि छ ।

Leave a Reply