वीरगञ्ज,पर्सा जिल्लाका १४ वटा पालिकामध्ये हालसम्म सखुवाप्रसौनी गाउँपालिका मात्र बजेट निकासाको सूचीमा परेको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्साका अनुसार सखुवाप्रसौनीले नगर सभा र अन्य आवश्यक प्रक्रिया पूरा गरेपछि बजेट निकासा पाएको हो ।

तर, बाँकी अन्य १३ वटा पालिकाहरूले नगर र गाउँ सभा सम्पन्न गरे पनि बजेट निकासाको लागि आवश्यक विवरण अद्यावधिक नगरेको कारणले ती पालिकाहरूको बजेट निकासा हुन सकेको छैन । यसै क्रममा वीरगञ्ज महानगरपालिका, पोखरिया, पर्सागढी लगायतका नगरपालिकाहरूले नगररगाउँ सभा सम्पन्न गरे पनि वडा र नगरस्तरीय योजनाको बजेट विनियोजनको विवरण मन्त्रालयमा पेस नगरेका कारण कोलेनिकामार्फत बजेट निकासा रोकिएको छ ।
बजेट निकासा नहुँदा यी पालिकाहरूका स्थायी, करार र दैनिक ज्यालादारी कर्मचारीहरूले तलब पाउन सकेका छैनन ्। वीरगञ्ज महानगरपालिकाका स्थायी कर्मचारीहरूको चालू आवको तलब रोकिएको छ भने करार र दैनिक ज्यालादारी कर्मचारीहरूले गत जेठदेखि नै तलब पाएका छैनन् ।

पोखरिया नगरपालिकामा पनि स्थायी कर्मचारीहरूको तीन महिना र करार तथा ज्यालादारी कर्मचारीहरूको सात महिनाको तलब बाँकी रहेको जनाइएको छ ।अवकाश पाएका कर्मचारीहरूको पनि उपदान बापतको रकम निकासा नहुँदा समस्या भएको छ । वीरगञ्ज महानगरपालिकाले फ्रीज भएको बजेट मन्त्रालयलाई फिर्ता गरेपछि मात्र नयाँ बजेट निकासा खुल्ने बताइएको छ ।बजेट निकासा रोकिँदा पालिकाहरूमा विकास निर्माणका कार्यहरू समेत प्रभावित भएका छन् । पालिकाहरूले समयमा नै आवश्यक विवरण पेस नगर्दा अनुदान सहयोगबाट वञ्चित हुने अवस्था आएको छ ।

Leave a Reply