नरेश गुप्ता
बरियारपुर,बारा जिल्लाको परवानिपुर गाउँपालिका वडा नम्बर. ३ परवानिपुरस्थित केमेसटन मिनिरल प्रा.लि.को गोदाममा बुधबार आगलागी भएको छ । गोदाममा राखिएको कोइलामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । गोदाममा थुपारिएको ६० टिपर जति कोइलामा आफै आगलागी भएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ । प्रहरीसहित वीरगन्ज, जीतपुरसिमराबाट आएको दमकल र स्थानीय मानिसहरुको सहयोगमा आगो निभाउने कार्य भइरहेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । आगलागीबाट लाखौ मूल्य बराबरको धनमाल क्षेति भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी जिल्लाको पचरौता नगरपालिका वडा नम्रब १ पिपरपाती टोल बस्ने वर्ष ६० का चन्द्र यादवको घर र गोठमा पनि बुधबार साँझ आगलागी भएको छ ।
यादवको वडा नम्बर नम्बर ३ स्थित फुसको छानो भएको घर र गोठमा बिजुली सर्ट भई आगलागी भएको बताइएको छ । प्रहरी चौकी पिपरापाति, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा बेलुकी ५ बजे आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट यादवको घर, गोठ जलेर पूर्णरुपमा नष्ट हुनुको साथै घरभित्र रहेको बिआर ०५– १८४ नम्बरको १ थान मोटरसाइकल, पानी तान्ने पम्प र अन्य सामानसमेत गरी १ लाख ३० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।