कलैया,मधेस प्रदेशअन्तर्गतका अस्पतालहरुमा छड्के चेकजाच गर्दैआउनुभएका मुख्यमन्त्री सतिशकुमार सिंहले बिहीवार साँझ प्रादेशिक अस्पताल कलैयाको आकस्मिक निरीक्षण गर्नुभएको छ ।प्रदेशका विभिन्न प्रादेशिक अस्पतालहरूमा बिरामीको उपचारमा लापरबाही भइरहेको जनगुनासोपछि मुख्यमन्त्री सिंहले केही दिनयता सरकार मातहतका अस्पतालमा छड्के निरीक्षण गर्दैआउनुभएको छ ।

सोही क्रममा एउटा कार्यक्रममा सहभागी हुन वीरगञ्ज आउनुभएका मुख्यमन्त्री सिंहले बाराको कलैया पुगेर प्रादेशिक अस्पतालमा छड्के अनुगमन गर्नुभएको हो । उहाँले अस्पतालको आकस्मिक कक्ष, अन्तरङ्ग कक्षलगायतको निरीक्षण गर्नुको साथै बिरामी र उनीहरुका कुरुवा र अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीसंग पनि भेटघाट गर्नुभएको थियो ।
छड्के अनुगमनक्रममा उहाँले बिरामीको उपचारमा हेलचेक्रयाइँ नगरी संवेदनशीलता अपनाउन चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई निर्देशन दिनुभएको थियो । उहाँले उपचारमा गरिने ढिलासुस्ती सह्य नहुने भन्दै प्रादेशिक अस्पतालहरूमा उपचार कार्यलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेकाले त्यसअनुसार नै अस्पतालका स्वास्थ्यकर्मीले पनि व्यवहार गर्नुुपर्ने बताउनुभयो ।मुख्यमन्त्री सिँहले स्वास्थ्योपचारका लागि खटिने कार्य सामान्य जागिरमात्र नभएर सामाजिक उत्तरदायित्व पनि भएकाले नियमित र पूरा समय काम गर्न अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीसंग आग्रह गर्नुभएको थियो ।

Leave a Reply