सिमरा,आफ्नो आत्मकथा समेटिएको किताब बिक्रीको आम्दानीबाट वीरगन्ज कृषी औजार कारखाना चलाउने अभियान सञ्चालन गर्दैआउनुभएका महावीर पुनले जीतपुरसिमरा उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा करिब एक हजार चार सय किताब बिक्री गर्नुभएको छ ।

चार दिनअघि गत आइतवार सिमरा आउनुभएका पुनले जीतपुरसिमराको अमलेखगञ्ज, पथलैया, सिमरा, डुमरवाना, जीतपुर बजारलगायत विभिन्न स्थानमा उक्त संख्यामा किताब बिक्री गर्नुभएको हो । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका पुनले जीतपुरसिमरा उपमहानगरपालिका, वडा कार्यालय, विद्यालय, सहकारी, बैंक, उद्योग कलकारखाना र बजार क्षेत्रमा किताब बिक्री गर्नुभएको हो ।उपमहानगरपालिकाको कार्यालयले मात्रै तीन लाख रकम बराबरको किताब खरिद गरेको स्थानीय युवा राजदास श्रेष्ठले जानकारी दिनुभयो । पुनलाई श्रेष्ठसहित रामचन्द्र लामा, रमेश थापा, विनोद सापकोटा, रघु लामिछानेलगायतका युवाले सहयोग गरेका थिए ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी हुँदै मधेस प्रदेश आउनुभएका पुन दुई दिन सिमरास्थित होटल गौतमराज र दुई दिन होटल श्रेष्ठ रेसिडेन्सीमा बस्नुभएको थियो । होटल संचालकले उहाँको निःशुल्क खाना र बासको प्रबन्ध मिलाएका थिए ।
एक वर्षअघिदेखि किताब बेच्ने अभियानमा रहेका पुनले हालसम्म एक लाख ३१ हजार किताब बिक्री गरिसक्नुभएको छ । उहाँ वीरगञ्जमा किताब बिक्री गरेर मधेसका अन्य जिल्ला हुँदै कोशी प्रदेश जाने तयारीमा हुनुहुन्छ ।

यसैबीच ७० वर्षको उमेर पार गरि घुमन्ते जीवन बिताउदै समाज सेवामा सक्रिय सादा जीवन र उच्च विचारका धनी बैज्ञानिक माहावीर पुनले हालसम्म आफ्नो पुस्तक बेचेर ९ करोड आर्जन गर्नुभएको छ । सोही रकमबाट उहाँले वीरगञ्जस्थित कृषि औजार कारखाना मर्मत गरेर संचालनमा ल्याउने तयारी गर्नुभएको हो । थप २० करोडको किताब बेचेर कारखाना पूर्ण क्षमताकासाथ नियमितरुपमा चलाउने बैज्ञानिक पुनको भनाई छ ।३२ वर्षअघि अध्ययन पूरा गरेपछि अमेरिकाबाट नेपाल फर्किनुभएका पुनले राष्टिय अनुसन्धान केन्द्र स्थापना गरि विभिन्न वैज्ञानिक अविष्कार र अनुसन्धान गर्दैआउनुभएको छ । पछिल्लो समय उहाँ वीरगञ्ज कृषि औजार कारखाना संचालन गर्न सक्रिय हुनुभएको छ ।

Leave a Reply