सिमरा,वैदेशिक भ्रमणका लागि भिसा लागिसकेपछि पनि बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको भ्रमण अन्तिम समयमा रद्द भएको छ ।संयुक्त राज्य अमेरिकामा आयोजना हुन लागेको ४ दिने कार्यक्रमका लागि त्यता जान लाग्नुभएकी प्रमुख प्रशासकीय अधिकृत काफ्लेको भ्रमण संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मन्त्रीस्तरीय निर्णय गर्दै रद्द गर्नुभएको हो ।
यूएसडएडको कार्यक्रममा भाग लिन १२ जना अमेरिकातर्फ जाने कार्यक्रम रहेकोमा दुई जनाको भीसा आएको थिएन । भीसा आएका मध्ये प्रमुख प्रशासकीय अधिकृत काफ्लेको भ्रमण भने रद्द भएको छ । यूएसएडद्धारा दिन लागिएको पब्लिक फिनान्सियल म्यानेजम्याण्ड बिषयक ४ दिने प्रशिक्षण कार्यक्रमका लागि काफ्लेलाई मन्त्रालयले गत साउन ६ गते मनोनयन गरेको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीमा वर्तमान मन्त्री गुप्ता आइसकेपछि नै उक्त निर्णय भएको थियो । तर कार्यक्रममा जानका लागि सम्पूर्ण तयारी गरिसकेकी काफ्लेलाई मन्त्रालयले अन्तिम समयमा आएर भदौं १८ गते मन्त्रिस्तरीय निर्णयबाट भ्रमण रद्द गरेको जानकारी गराएको थियो ।जीतपुरसिमराका नगर प्रमुख राजन पौडेलसंग मात्रै निकट रहेर काम गर्दै आएकोभन्दै अधिकृत काफ्लेको नेकपा एमालेबाट निर्वाचित उपप्रमुख भोला अधिकारीसहित काग्रेस र तमलोपाका जनप्रतिनिधिहरुले पनि आलोचना गदैआएका छन । केही दिनअघि कार्यालयका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरिएको विषयमा गुनासो गर्न कार्यकक्षमा पुगेका वडा अध्यक्षसंग भएको विवादको क्रममा अधिकृत काफ्लेले वडा नम्बर १४ की वडा अध्यक्ष चयन गुरुङ्गको राजिनामा मागेपछि उहाँ थप विवादमा पर्नुभएको हो । अध्यक्ष गुरुङ्गले काम गर्न नसक्ने हो भने बाटो लाग्नुस भनेपछि अधिकृत काफ्लेले तपाई पनि वडा अध्यक्ष पदबाट राजिनामा दिनुस भनेर जवाफ फर्काउनुभएको थियो ।दशैं नगरसभाको विषयमा जीतपुरसिमरामा मेयर पौडेल र अन्य जनप्रतिनिधिबीच विवाद चल्दै आएको छ । केही दिनअघि एक सामुदायिक विद्यालयमै पुगेर मेयरले माइन्युट खोस्न र वडा अध्यक्षसँग हातपातमा उत्रिन खोजेपछि अन्य दलका वडा अध्यक्षहरुले उहाँको विरोध गरिरहेको छ ।