मनोज शाह
जीतपुर, बाराको फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारीको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि स्थानीय स्तरमा विवाद चर्किएको छ । अध्यक्ष अन्सारीले भ्रष्टाचारविरुद्ध आवाज उठाउने स्थानीय युवामाथि प्रहरीमार्फत दबाब र धम्की दिइएको आरोप सार्वजनिक भएपछि विवाद चर्किएको हो ।
गाउँपालिका अध्यक्ष अन्सारीले भिडियोमा, “यो गाउँमा केही बदमास मान्छे छन्, ठेकेदारसँग रकम माग्छन्, रकम दिएपछि सबै ठिक हुन्छ,” भन्ने अभिव्यक्ति दिएको सुनिन्छ । गाउँपालिका कार्यालयमा व्यप्त अनियमितता तथा ठेक्का प्रक्रियामाथि प्रश्न उठाउँदै आएका स्थानीय युवाहरूलाई नै त्रासमा पार्न अध्यक्ष अन्सारीले अभिव्यक्ति दिएको भन्दै स्थानीयमा आक्रोश बढ्दै गएको छ ।

अध्यक्षको उक्त भनाई सार्वजनिक भएपछि स्थानीयवासीले भ्रष्टाचारको विषय उठाउने युवाहरूलाई बदनाम गर्न खोजिएको आरोप पनि लगाएका छन् । “जनताको पक्षमा बोल्नेहरूलाई नै बदमास भन्दै धम्क्याउने काम भयो,” भन्दै स्थानीय युवाहरूले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।यता गाउँपालिकाभित्र विकास निर्माण, ठेक्का प्रक्रिया तथा रकम असुलीको विषयलाई लिएर विवाद झन् चुलिँदै गएको छ । सामाजिक सञ्जालमा पनि अध्यक्ष अन्सारीको अभिव्यक्तिप्रति तीव्र आलोचना भइरहेको छ ।
स्थानीयवासीले घटनाबारे उच्चस्तरीय अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

Leave a Reply