कलैया,सर्वोच्च अदालतले १९ वर्षअघि रौतहटको गौरमा भएको हत्याकाण्डको अनुसन्धान अघि बढाउन परमादेश जारी गरेपछि मधेस प्रदेसमा तनाव चुलिएको छ ।जनता समाजवादी पार्टी (जसपा) नेपालले उक्त परमादेशलाई ‘अन्यायपूर्ण’ भन्दै सोमवारबाट मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा प्रदर्शन शुरु गरेका छन ।
जसपा कार्यकर्ताहरुले सोमवार र मङ्गलवार मधेसका जिल्ला सदरमुकामहरूमा टायर बालेर प्रदर्शन गरेका हुन ।
यसैक्रममा बाराको कलैयामा जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले टायर बालेर प्रदर्शन गरेका छन ।प्रदर्शनकारीहरुले पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतलाई फसाउने नियतले अदालतमार्फत सरकारले कारबाही अघि बढाएकोभन्दै विरोध जनाएका थिए । प्रदर्शनकारीहरुले पार्टी अध्यक्ष यादवमाथि लगाएको झुठा मुद्दा खारेज गर, प्रधानमन्त्री केपी ओली मुर्दावाद लगायतका नारा लगाउदै भरत चोकमा प्रदर्शन गरेका हुन् । प्रदर्शनको क्रममा प्रदर्शनकारी र प्रहरी बीच केही बेर घम्साघम्सी समेत भएको थियो ।
त्यसैगरी रौतहटको गौर, सर्लाहीको मलगंवामा पनि सर्बोच्चको परमादेशविरुद्धमा जसपा नेपाल कार्यकर्ताले टायर बालेर प्रदर्शन गरेका छन् ।
२०६३ चैत ७ मा रौतहटको गौरमा मधेसी जनअधिकार फोरम र माओवादीबिच एकै ठाउँमा कार्यक्रम गर्ने विषयमा भएको झडपमा २८ माओवादी कार्यकर्ताको मृत्यु भएको थियो । भने घटनामा ५० भन्दा बढी माओवादी कार्यकर्ता घाइते भएका थिए ।
माओवादी कार्यकर्तालाई लक्षित गरी गरिएको आक्रमण पूर्वनियोजित तथा संगठित रूपमा भएको राष्ट्रिय मानवअधिकार आयोगले घटनाको छानबिनपछि ठहर गरेको थियो ।घटना भएको १९ वर्ष बितिसक्दा पनि अनुसन्धान अघि बढ्न नसकेको अवस्थामा सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले सोमवार परमादेश जारी गर्दै उक्त घटनाको अनुसन्धान तत्काल अघि बढाउन आदेश दिएको हो ।जसपा नेपालले परमादेशलाई आफ्ना अध्यक्ष उपेन्द्र यादवलाई ‘फसाउने षड्यन्त्र’ को रूपमा लिएको छ । जसपा नेपाल मधेस प्रदेशका अध्यक्ष बाल किशोर यादवले सर्वोच्चको परमादेशलाई अन्यायपूर्ण भन्दै खारेज गर्न माग गर्नुभएको छ ।

















