निजगढ,जेनजी आन्दोलनको नाममा गरिएको आगजनीबाट वडा कार्यालय भवन ध्वस्त बनेपछि निजगढ नगरपालिका वडा नम्बर १२ चिसापानीका सर्वसाधारणलाई कार्यालयको सेवा लिन २ घण्टा पैदल हिडनुपर्ने भएको छ ।गत भदौं २४ गतेको आगजनीमा जलेर नष्ट भएपछि सो वडाको चिसापानी, बुङ्गजोरलगायत गाउँका सेवाग्राहीहरु करिव १० किमी टाढा पर्ने वडा नम्बर १३ को वडा कार्यालयमा पुगेर सेवा लिन बाध्य भएका हुन ।
‘आफ्नै गाउँको कार्यालय भवनमा आगो लगाइयो, चिसापानीकी अगुवा महिला जोसीमायाले भन्नुभयो, टेम्पुमा आउजाउ गर्दा २ सय रुपैया लाग्छ, पैदललै जाऊ ४ घण्टा ।’ गाउँका केही व्यक्तिहरुका कारण अहिले सबैलाई दुःख आइपरेको उहाँको भनाई छ । उहाँले कार्यालयबाट सेवा संचालन गर्ने बारेमा वडा कार्यालय र निजगढ नगरपालिका कार्यालयले तत्काल पलह गर्नुपर्ने पनि बताउनुभयो ।
वडा अध्यक्ष ज्ञानबहादुर गोलेले भवन मर्मतमात्रै गरेर संचलन गर्ने अवस्था नरहेकाले वैकल्पिक उपाय खोजेर पायक पर्ने स्थानबाट सेवा सुचारु गर्ने तयारी भइरहेको बताउनुभयो । ‘पूर्णरुपमा नष्ट भएको छ, मर्मत गर्ने अवस्था नै छैन, अध्यक्ष गोलले भन्नुभयो, नयाँ निर्माण गर्न बजेटको खोजी भइरहेको छ ।’ उहाँले गाउँकै केही व्यक्तिहरुले राजनीतिक प्रतिशोधमा जेनजीको नाममा कार्यालयमा आगजनी गरेको बताउनुभयो ।
निजगढ नगरपालिकाले थर्माकोल जडित प्रिभ्याब प्रविधिको सो भवन ४ वर्षअघि ३० लाखको लागतमा निर्माण गरेको थियो ।आगजनीबाट भवनसहित कार्यालयमा रहेको कागजपत्र, कम्प्युटर, फर्निचर लगायत सबै सामग्री जलेर नष्ट भएको पनि वडा अध्यक्ष गोलेले जानकारी दिनुभयो ।वडा कार्यालय जलेपछि हाल सो वडाको सेवा भक्तलालस्थित वडा नम्बर १३ को कार्यालयबाट संचालन गर्ने व्यवस्था मिलाइएको छ । वडा सचिव अरुण बस्नेतले दुबै वडाको काम गर्दै आउनुभएको छ ।


















