जियालाल चौधरी
कोल्हबी,बाराको सिम्रौनगढ – तामागढी सडक खण्डको कोल्हबी नगरपािलकास्थित पडरी गाउँमा पिकअप भ्याननले ठक्कर दिँदा आइतवार बिहान एक जनाको मृत्यु भएको छ ।
रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ८ सोनरनियाँ गाउँका ५५ वर्षीय अधिकारी यादवको भ्यानको ठक्करबाट मृत्यु भएको हो । साइकलमा तरकारी लिएर जाँदै गरेका यादवलाई कोल्हबीबाट सिम्रौनगढतर्फ जाँदै गरेको प्रदेश २–०१–४९२० नम्बरको पिकअप भ्यानले ठक्कर दिएपछि घटनास्थलमै मृत्यु भएको कोल्हबी इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक लालु यादवले बताउनुभयो ।
पिकअप भ्यान र त्यसमा सवार २ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । पिकअपमा सवार कोल्हवी– १ का साजन चौधरी र प्रिन्स जयसवाल नियन्त्रणमा रहेका छन् । उनीहरू दुवैले बयानका क्रममा पिकअप भ्यान चलाएको बारेमा भने एक जनाले अर्कालाई दोष लगाइरहेको प्रहरीको भनाई छ ।
सिमलतालमा बस र ट्रक ठोक्किँदा बाराका दुई जना घाइते
सिमरा,चितवनको नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालमा आइतवार बिहान भारतीय बस र ट्रक ठोक्किँदा बाराका दुईसहित तीन जना घाइते भएका छन् ।
घाइते हुनेमा ट्रकमा सवार बारा आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ५ का ३० वर्षीय मन्ज रावल बरई, उनका ६ वर्षीय छोरा आशीष चौरासिया र ट्रक चालक धादिङ बेनिघाटका २८ वर्षीय राजन क्षेत्री रहेका छन् ।
बरईको घाँटीमा, चौरसियाको पेटमा र क्षेत्रीको हातमा चोट लागेको प्रहरीले जनाएको छ । मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ग२ख ११०८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको एआर ०१ टी ६३७२ नम्बरको भारतीय बस एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभएको छ ।
प्रहरीका अनुसार बस चालक फरार रहेका छन् भने घाइतेको चितवनस्थित अस्पतालमा उपचार भइरहेको छ ।

















