निजगढ,निजगढ नगरपालिकामा पूर्वाधारयुक्त, सुविधा सम्पन्न र व्यवस्थित शहर निर्माण हुने भएको छ । निजगढ नगरपालिका कार्यालयमा बिहीवार सरोकारवालाहरु बीच भएको छलफल कार्यक्रममा नगरपालिकाको वडा नम्बर ६ र ८ मा पर्ने ८५ बिगाहा जमिनमा जग्गा एकीकरणमार्फत आधुनिक शहर निर्माण गर्न थप प्रकृया अघि बढाउने सहमति भएको हो । यसअघि गत फागुनमा शहर निर्माण गर्ने बारेमा नगरपालिकाका जनप्रतिनिधि, जग्गाधनी र सरोकारवालाहरुबीच शहर निर्माण गर्ने प्रारम्भिक सहमति भएको थियो ।
सोही सहमतिअनुसार आयोजनाको कन्सल्टेन्सी संस्था रेस इन्जिनियरिङ्गले दोस्रो चरणको छलफल कार्यक्रम आयोजना गरेको हो ।
निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, वडा नम्बर ८ का वडा अध्यक्ष सुवर्ण लामा, वडा नम्बर ६ का पूर्ववडा अध्यक्ष कुशबहादुर थापा, स्थानीय जग्गाधनीहरु, नेकपा एमालेका उपाध्यक्ष भोलाप्रसाद गौतम, नेपाली कांग्रेशका ललितबहादुर राउत, नेकपा माओवादीका संतोष दङ्गाल, नेकपा एकीकृत समाजवादीका भिमसेन सापकोटा, लोसपाका मोजहर मन्सुर, राप्रपाका खडकप्रसाद उप्रेती र कन्सल्टेन्सी संस्था रेस इन्जिनियरिङ्गका प्राविधिकहरकोसमेत सहभागिता रहेको थियो ।
कार्यक्रममा रेस इन्जिनियरिङ्गका इन्जिनियर राजेन्द्रमान श्रेष्ठ र अर्जुन कार्कीले आयोजनाको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा आयोजनाले तयार पारेको नमूना शहरको ३ वटा मोडेल बारे जानकारी गराइएको थियो ।
शहरी विकास मन्त्रालयको नयाँ शहर आयोजनाको सहयोगमा निजगढ नगरपालिका वडा नम्बर ६ मा पर्ने जंगली पैनीबाट पश्चिमको जमुना पैनीसम्म र सोही वडाको सडकटोलबाट पुरानो निजगढसम्म पुग्ने सडकबाट दक्षिण तथा वडा नम्बर ८ को रैयाटोलबाट निजगढ नगरपालिका वडा नम्बर ४ मजुवासम्म पुग्ने सडकको उत्तरमा पर्ने करिव ८५ बिगाहा क्षेत्रमा आधुनिक सहर निर्माण हुने निजगढ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तिमल्सिनाले जानकारी दिनुभयो । सो सहरभित्र सडक, ढल, सार्वजनिक स्थल र अन्य पूर्वाधारसमेत निर्माण गरिने उहाँको भनाइ छ ।
कन्सल्टेन्सी संस्थाले यसअघि नै प्रस्तावित शहरको क्षेत्र निर्धारण गरी प्रारम्भिक प्रतिवेदन समेत तयार पारेको हो । गत फागुन २३ गते निजगढ नगरपालिकाका जनप्रनिधिसहति स्थानीय जग्गाधनी बिच भएको छलफलमा शहर निर्माण गर्ने बारेमा सहमति भएको थियो ।