सिमरा,वीरगञ्जस्थित किरण आँखा अस्पतालले बाराको सिमरामासमेत सेवा विस्तार गरेको छ । सिमरास्थित सूर्य नेपाल अगाडि अस्पतालले सुविधा सम्पन्न क्लिनिक सञ्चालनमा ल्याएको हो ।जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले शनिवार क्लिनिकको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले सर्वसाधारणले गुनासो नगर्ने गरी उपचार सेवा प्रदान गर्न आग्रह गर्नुभएको थियो ।
जीतपुरसिमरामा पछिल्लो समय स्वास्थ्य संस्था र दक्ष चिकित्सकको संख्या बढ्दै गएको बताउँदै नगर प्रमुख पौडेलले उपचारकै लागि अन्यत्र धाउनुपर्ने बाध्यताबाट हट्दै गएको बताउनुभयो । पौडेलले जीतपुरसिमरामा स्वास्थ्य सेवालाई अझै प्रभावकारी र सहज बनाउन आफूहरु लागिपरेको बताउनुभयो ।कार्यक्रममा स्थानीय मुकुन्दबहादुर क्षेत्रीले दक्ष चिकित्सकले उपचार गर्ने गरी आँखा उपचार क्लिनिकको शुभारम्भ भएको बताउँदै सर्वसाधारणको विश्वास जितेर अघि बढ्न अनुरोध गर्नुभयो ।
अस्पतालका सञ्चालक एवम् डा. अमर केयालले सर्वसाधारणकै सहजताका लागि सेवा केन्द्र विस्तार गरिएको बताउनुभयो । यस क्षेत्रबाट उपचारका लागि धेरै नागरिक पुग्ने गरेको बताउँदै सबैलाई अझ पायक हुने गरी क्लिनिक स्थापना गरिएको उहाँको भनाई थियो । डा. केयालले वीरगञ्जको अस्पतालमा उपचार गर्ने दक्ष चिकित्सकहरुको संलग्नतामा सिमराबाट पनि सेवा सञ्चालन हुने जानकारी दिनुभयो ।


















