निजगढ,जिल्ला प्रशासन कार्यालय कलैयाले निर्धारित मितिको साधारण सभा स्थगित गर्न पत्राचार गरेपछि गौरीशंकर क्याम्पस निजगढको सभा अनिश्चत बन्नपुगेको छ ।क्याम्पस संचालक समितिले जेष्ठ ३ गते क्याम्पस सभा आयोजना गर्न भनेर अन्तिम तयारी गरिरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालय बाराले सभा रोक्न भनेर जेष्ठ २ गते क्याम्पसमा पत्राचार गरेको थियो । जिप्रकाले पठाएको पत्रमा सहमतिको आधारमा ७ दिनभित्र साधारण सभाको नयाँ मिति तय गर्न भनिएको भएपनि स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुबीच साधारण सभा गर्ने बारेमा सहमति हुन नसकेपछि सभा अनिश्चित बन्दै आएको हो ।
प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले हस्ताक्षर गरेको पत्रमा पूर्वनिर्धारित सभा स्थगित गरी आगामी ७ दिनभित्र निजगढ नगरपालिका, बुद्धिजीवी, भद्रभलादमी र क्याम्पसका अभिभावकहरुको उपस्थितिमा छलफल गरी साधारण सभाको नयाँ मिति तय गर्न आग्रह गरिएको थियो । तर नगरपालिकाले सहमति गर्न भनेर बोलाएको सर्वदलीय बैठकमा साधारण सभा आयोजना गर्ने बारेमा कुनै सहमति हुन सकेको छैन ।नेकपा एमाले बाहेक निजगढस्थित अन्य सबै राजनीतिक दलका प्रतिनिधिहरुले क्याम्पसको नियमावली परिवर्तन गरेर मात्रै क्याम्पस सभाको आयोजना गरिनुपर्ने माग गर्दैं ज्ञापन पत्र बुझाएपछि जिल्ला प्रशासन कार्यालयले निर्धारित सभा स्थगित गर्न क्याम्पसमा पत्राचार गरेको थियो ।क्याम्पस संचालक समितिका अध्यक्ष एकबहादुर श्रेष्ठले भने क्याम्पस त्रिभुवन विश्वविद्यालय अन्तरगतको एउटा स्वायत्त र प्राज्ञिक निकाय भएकोले अन्य कुनै क्षेत्रबाट हस्तक्षप गर्न नमिल्ने बताउनुभयो । उहाँले क्याम्पसको बारेमा कुनै निर्णय गर्नुपर्ने अवस्थामा क्याम्पस सभाले मात्रै गर्नसक्ने पनि बताउनभएको छ ।

Leave a Reply