वीरगञ्ज,दुई वर्षदेखि लक्ष्यअनुसारको राजस्व संकलन गर्न असफल भएसँगै भन्सार विभागले वीरगञ्ज भन्सारको लक्ष्य घटाएको छ ।विभागले आर्थिक वर्ष २०८०-८१ को तुलनामा चालु आर्थिक वर्ष २०८१-८२ मा राजस्व संकलन गर्ने लक्ष्य २६ अर्ब ९२ करोड ८६ लाख ७२ हजार रुपैयाँले घटाइदिएको हो ।भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई राजस्व संकलनको महत्वाकांक्षी लक्ष्य दिए पनि कार्यालयले लक्ष्यअनुसारको राजस्व भेट्टाउन सकिरहेको थिएन ।
विभागले वीरगञ्ज भन्सार कार्यालयलाई आव २०८० र ८१ मा रु दुई खर्ब ४५ अर्ब ८८ करोड ५० लाख ८२ हजार राजस्व संकलनको लक्ष्य निर्धारण गरेको थियो । तर, कार्यालयले गत आवमा मुस्किलले एक खर्ब ५७ अर्ब ४० करोड ३१ लाख २८ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । विगतका वर्षमा लक्ष्य र संकलनबीच ठूलो अन्तर देखिएसँगै चालु आवमा राजस्व संकलनको लक्ष्य घटाइएको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुबोधकुमार गुप्ताले भन्सार विभागले भन्सार कार्यालयलाई समयसापेक्षभन्दा पनि महत्वाकांंक्षी लक्ष्य दिने परिपाटीको कारणले पनि लक्ष्यअनुसारको राजस्व संकलन नभएको बताउनुभयो । ‘सरकारले आयात खुम्चिरहेको अवस्थामा महत्वाकांक्षी लक्ष्य राखेपछि कहिल्यै पनि लक्ष्यअनुसार भेट्टाउन सकिन्न’, उहाँले भन्नुभयो, ‘गत आवमा संकलन भएको राजस्वको १० देखि १५ प्रतिशत बढाएर लक्ष्य राख्ने हो भने सहजै लक्ष्य भेट्टाउन सकिन्थ्यो ।’
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले भन्सार विभागले निर्धारित गरेअनुसारको राजस्व संकलन नभएसँगै राजस्व संकलनको लक्ष्य घटाइएको स्वीकार गर्नुभयो । ‘विगत केही वर्ष यता लक्ष्यअनुसारको राजस्व संकलन हुन नसकेको यथार्थ हो। त्यसैले विभागले घटाएको होला’, उहाँले भन्नुभयो, ‘विभागले कार्यालयलाई चालु आव रु दुई खर्ब १८ अर्ब रुपैयाँको लक्ष्य निर्धारण गरेको छ ।” सूचना अधिकारी कर्णले विभागले चालु आवमा तोकिएको लक्ष्यअनुसार राजस्व संकलन गर्न कार्यालय सक्रिय भएर लाग्ने बताउनुभयो ।कार्यालयले आव २०७९ र ८० मा रु दुई खर्ब ६० अर्ब ९७ करोड राजस्व संकलनको लक्ष्य पाएकामा ६० दशमलव २२ प्रतिशत अर्थात् एक खर्ब ५७ अर्ब १५ करोड ४९ लाख २२ हजार राजस्व संकलन गरेको थियो । साथै आव २०७८र७९ मा भने लक्ष्यअनुसारको राजस्व संकलन गरेको थियो ।आव २०७८÷७९ मा दुई खर्ब तीन अर्ब राजस्व संकलनको लक्ष्य रहेकामा १००.५४ प्रतिशत अर्थातदुई खर्ब चार अर्ब १२ करोड राजस्व उठाएको थियो ।

















