कलैया,चिसो बढेपछि कलैया र जीतपुरसिमरा उपमहानगर मंगलवारदेखि ३ दिनका लागि विद्यालय पठन पाठन बन्द गर्ने निर्णय गरेका छन ।उपमहानगरहरूले नगरप्रमुख स्तरीय निर्णय गरेर ३ दिनका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो । चिसो बढेका कारण विद्यालयमा पठन पाठनमा समस्या भएको भन्दै शिक्षक र अभिभावकहरूबाट गुनासो आएपछि उपमहानगरले पठन पाठन बन्द गर्ने निर्णय गरेको कलैया उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले बताउनुभयो । चिसोको कारण विद्यार्थीको स्वास्थ्यलाई ख्याल राखेर विद्यालय बन्द गर्ने निर्णय गरिएको उहाँले बताउनुभएको छ ।कलैया उपमहानगरमा ७१ वटा सामुदायिक र ६५ वटा संस्थागत विद्यालयहरू रहेका छन् ।जीतपुरसिमरा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादले सार्वजनिक सूचना प्रकाशित गरेर बिदा बारे जानकारी गराउनुभएको हो । मंगलबारदेखि बन्द भएका विद्यालयहरू बिचमा सार्वजनिक बिदा भएकोले माघ २ गतेबाट मात्रै खुल्ने पनि जनाइएको छ । जीतपुरसिमरामा ६१ वटा सामुदायिक र ५१ वटा संस्थागत निजी विद्यालयहरु रहेका छन् ।
त्यसैगरी केही दिनयता शुरु भएको शीतलहरसँगै चिसो बढेपछि रौतहटका सामुदायिक विद्यालयहरुमा ४ दिनको लागि जाडो बिदा दिइएको छ ।शिक्षा समन्वय एकाइ रौतहटले जाडो अत्यधिक बढेका कारण बालबालिकाको स्वास्थ्यलाई ख्यालमा राखी जाडो बिदा दिन जिल्लाका सबै विद्यालयलाई सूचना जारी गरेपछि मङ्गलवारदेखि विद्यालय बन्द भएका हुन् ।
जिल्लाको चन्द्रपुर, फतुवाविजयपुर, देवाहीगोनाही, कटहरियालगायत १८ वटा पालिकाले मङ्गलवारदेखि आउँदो शुक्रवारसम्म विद्यालय बन्द गरेका छन् ।शिक्षा समन्वय एकाइ रौतहटका प्रमुख रामविनय सिंहले जिल्लाका १८ वटै पालिकाका सबै सामुदायिक विद्यालयलाई हिउँदे वा वर्षे बिदाबाट बिदा मिलान हुने गरी पाँच दिनसम्म जाडो बिदा दिन सोमवार नै सूचना जारी गरेपछि मङ्गलवारदेखि विद्यालय बन्द भएको बताउनुभयो ।उहाँका अनुसार शिक्षा नियमावली २०५९ को नियम ८५ को उप नियम ३ मा उल्लेख भएअनुसार एक शैक्षिक सत्रमा हिउँद वा वर्षे बिदा वा दुवै गरी ४५ दिन विद्यालय बन्द रहने प्रावधान रहेकोले सोहीबमोजिम सञ्चित रहेको वर्षे बिदाबाट जाडो बिदा दिन सूचना जारी गरेको हो ।
उता, चिसो बढेपछि महोत्तरीका तीन पालिकाले विद्यालय बन्द गरेका छन् । रामगोपालपुर नगरपालिका र सोनमा गाउँपालिकाले सोमवारदेखि र गौशाला नगरपालिका मंगलवारदेखि विद्यालय बन्द गरेका हुन् ।सोनमा गाउँपालिकाले चार दिन, रामगोपालपुर नगरपालिकाले नौ दिन र गौशाला नगरपालिकाले एक हप्ताको जाडो बिदाको सूचना प्रकाशित गरेका छन् । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने भन्दै बिदा दिने निर्णय गरिएको सोनमा गाउँपालिकाका अध्यक्ष विषेश्वर यादवले बताउनुभयो । रामगोपाल नगरपालिकाका मेयर रामदुलार साहले चिसोबाट विद्यार्थी प्रभावित हुने भन्दै जाडो छल्न केही दिन बिदा दिइएको बताउनुभयो ।गौशालामा मगलवार सम्पन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकको बैठकले बुधवारदेखि पुस मसान्तसम्म बिदा दिन आग्रह गरेअनुसार एक हप्ताको जाडो बिदा दिइएको गौशाला नगरपालिकाका शिक्षा तथा खेलकुद शाखाले जनाएको छ ।चिसो बढेपछि अन्य पालिकाका विद्यालयमा पनि विद्यार्थीको सङ्ख्या घटेको जनाइएको छ । आइतवारदेखि चिसो ह्वात्तै बढेपछि यहाँका हाटबजारमा चहलपहल घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here