काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको लिकुड पार्टीले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेको छ। पार्टीले प्रहरी, आन्तरिक सुरक्षा निकाय सिन बेट र केन्द्रीय निर्वाचन समितिलाई घटनाबारे अनुसन्धान गर्न आग्रह गरेको हो।
लिकुड पार्टीले जारी गरेको विज्ञप्तिमा अरब नेतृत्वका दलहरूले घुसखोरी, धम्की, हिंसा, जालसाजी र प्रतिबन्धित सफ्टवेयर प्रयोग गरेर मतदातालाई प्रभावित पारेको आरोप लगाइएको छ। यद्यपि, यी आरोपहरूको स्वतन्त्र पुष्टि भएको छैन।
पार्टीले निर्वाचनमा अनियमितता भएको दाबी गर्दै प्रहरी, सिन बेट र केन्द्रीय निर्वाचन समितिसमक्ष सयौँ प्रमाण पेस गरेको जनाएको छ। ती प्रमाणमा नगद राखिएका खाम, राअम पार्टीका प्रचार सामग्री तथा धम्की, हिंसा र दोहोरो मतदानसँग सम्बन्धित विवरण रहेको लिकुडको दाबी छ। मतदाता ओसारपसारका लागि प्रतिबन्धित सफ्टवेयर प्रयोग गरिएको आरोपसमेत पार्टीले लगाएको छ।
निर्वाचनको प्रारम्भिक आकलनअनुसार अरब नेतृत्वका राअम र जोइन्ट लिस्ट दलहरूले उल्लेखनीय सफलता हासिल गर्ने अनुमान गरिएको छ। उनीहरूले १९ सिटसम्म जित्न सक्ने आकलनसँगै नेतान्याहूको गठबन्धन र विपक्षी पक्ष दुवैले संसद्मा स्पष्ट बहुमत हासिल गर्न नसक्ने अवस्था देखिएको छ।
निर्वाचनअघि चुनावी प्रचारका क्रममा नेतान्याहूको लिकुड पार्टीले अरब नेतृत्वका दलहरूसँग सहकार्य गर्ने विषयको विरोध गरेको थियो। चुनावी परिणामले राजनीतिक समीकरण जटिल बनेपछि लिकुडले मतदान प्रक्रियामाथि प्रश्न उठाएको हो।
लिकुड पार्टीले निर्वाचन समितिसँग आरोपहरूको तत्काल छानबिन गरी आवश्यक कदम चाल्न माग गरेको छ। तर, केन्द्रीय निर्वाचन समितिका एक अधिकारीले भने निर्वाचनमा धाँधली भएको दाबी अस्वीकार गरेका छन्।
यसैबीच, विभिन्न रिपोर्टअनुसार निर्वाचनअघि नै लिकुड पार्टीले अरब समुदायको बाहुल्य रहेका मतदान केन्द्रका नतिजालाई चुनौती दिने तयारी गरेको थियो। निर्वाचनसम्बन्धी विवाद र बहुमतको अनिश्चितताले इजरायलको राजनीतिक अवस्था थप पेचिलो बन्न सक्ने देखिएको छ।

















