पुष्पराज खतिवडा

मनहर्वा,नेकपा एमाले पोलिटब्युरो सदस्य, पूर्वमन्त्री एवं बारा क्षेत्र नं.३ की प्रतिनिधि सभा सदस्य उम्मेदवार ज्वालाकुमारी साहले आफ्नो क्षेत्रका युवालाई रोजगारीका अवसर दिने बताउनुभएको छ ।

‘रोजगारी सृजना हुने कार्यक्रममै आगामी दिन खर्चिने छु, क्षेत्रका युवाहरुका लागि काम गर्ने छु, उम्मेदवार साहले सोमबार भोडाहामा आयोजित घरदैलो कार्यक्रममा बताउनुभयो ।

कृषि र पर्यटनलाई उद्योगको रुपमा विकास गर्ने कार्यक्रमलाई आफ्नो क्षेत्रमा विशेष ध्यानमा राखेर संचालन गर्ने र यसले युवा किसानलाई उद्यमी बनाउने छ भन्दै उहाँ त्यसका लागि जनताको सुझावको खाँचो रहेको बताउनुभयो ।

‘विद्युतमा सहजता, कृषिमा आधुनिकीकरण, यान्त्रकीरण गरी उत्पादन वृद्धि पहिलो लक्ष्य हो, उहाँले भन्नुभयो, युवा, महिला र विपन्नको जीवन स्तरमा सुधार ल्याउने कार्यक्रमहरुको पहिचान गरी उनीहरुलाई सीपमुलक तालिम, सुलभ कर्जा जस्ता कार्यक्रम ल्याउने छौं ।’ उम्मेदवार साहले समाज रुपान्तरणमा सहकारी अभियान प्रभावकारी हुने भन्दै यसलाई अझ मजबुद बनाउँदै समुदायको हितमा काम गर्न राज्यको सहयोगी निकायका रुपमा लिने योजना रहेको पनि सुनाउनुभयो ।

उहाँले पुल, पुलेसा, कृषि सडक, सरकारी विद्यालय तथा स्वास्थ्य संस्थाको सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने पनि बताउनुभयो । भुमिहिन सुकुम्बासीलाई पुर्जा, विपन्नलाई घर दिलाउने काम आफ्नो कार्यकालमा प्रथमिकताका साथ हुने उहाँको भनाइ छ ।

चुनाव आफुले जित्ने बताउँदै साहले आफ्नो यस क्षेत्रमा प्रतिस्पर्धी नै नभएको बताउनुभयो । चुनाव जितेको ३ हप्तामा टाँगियाबस्तीमा टेलिफोन टावर निर्माण गर्न लगाउने, टाँगिया जनतालाई यन्यत्रका जनता सहरको सबैखाले सुविधा उपभोगको व्यवस्था मिलाउन आफुले काम गर्ने पूर्वमन्त्री साहले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here