मनोज शाह
जीतपुर,बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ मटिहानीस्थित एक दलित बस्तीका स्थानीयवासी आधारभूत सुविधाबाट वञ्चित हुँदै आएका छन् ।४२ घरधुरीमा करिब ४०० जनसंख्या बसोवास रहेको उक्त बस्तीमा हालसम्म न खानेपानीको व्यवस्था पुगेको छ, न त विद्युत् सेवा नै विस्तार गरिएको छ ।

स्थानीयवासीका अनुसार हरेक चुनावमा नेताहरू भोट माग्न बस्तीमा आउने, बिजुली, खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवाको आश्वासन दिने गरे पनि चुनाव सकिएपछि कोही फर्केर आउने गरेका छैनन् ।जनप्रतिनिधिको बेवास्ताका कारण आफूहरू विगत २० वर्षदेखि अँध्यारोमा बस्न बाध्य भएको स्थानीयहरूको गुनासो छ । वर्षौंदेखिको समस्याका कारण बालबालिकाको पढाइदेखि दैनिक जनजीवनसम्म प्रभावित भएको उनीहरूको भनाई छ ।
यता वडा अध्यक्ष भिमबहादुर लामाले उक्त बस्ती वन क्षेत्रको जग्गामा परेकाले समस्या समाधान गर्न कठिनाइ भइरहेको बताउनुभएको छ । उहाँका अनुसार वन कार्यालयसँग पटक–पटक समन्वय गर्दा पनि त्यहाँ बिजुली र खानेपानीको व्यवस्था नगर्न आग्रह आउने गरेको छ ।देशभर विकासका ठूला ठूला कुरा भइरहेका बेला जीतपुरसिमराको मटिहानीको यो दलित बस्तीमा भने अझै उज्यालो र स्वच्छ खानेपानीको पर्खाइमा छ ।

Leave a Reply