दुष्यन्त चौधरी

कलैया,बाराको पचरौता नगरपालिकाको कार्यालयमा कार्यरत कर्मचारीलाई धम्की दिने र कुटपिट गर्नेमाथि कारबाही नगरी उल्टै प्रहरीले कार्यालयलाई असहयोग गरेको भन्दै नगरपालिकामा मंगलवारदेखि सम्पूर्ण सेवा बन्द भएको छ ।गरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशकुमार मिश्रले मंगलवार विज्ञप्ति जारी गर्दै कार्यालयको सेवा बन्द गरिएको जानकारी गराउनुभएको हो ।विज्ञप्तिमा उल्लेख कर्मचारीलाई कुटपिट तथा धाक धम्की दिनेलाई कारबाही नगरिएसम्म कार्यालयसँगै वडा कार्यालय, स्वास्थ्य चौकी, नगर अस्पताललगायत नगरपालिकाबाट प्रदान गरीने सम्पूर्ण सेवा बन्द गरिएको जनाइएको छ ।प्रमुख प्रशासकीय अधिकृत मिश्रकाअनुसार असार १० गतेका दिन नगरपालिकामा कार्यरत कर्मचारीहरुलाई गालीगलौजसँगै हातपात तथा कार्यालयको कम्प्युटर र प्रिन्टरसमेत तोडफोड गरिएको थियो । कर्मचारीमाथि गरिएको कुटपिट र कार्यालयको तोडफोडमा संलग्नजमाथि कारबाही गर्न भनेर दिइएको जाहेरीमा प्रहरीले कुनै सुनुवाइ नगरेपछि कर्मचारीहरुले बाध्य भएर सेवा अवरुद्ध पार्नुपरेको बताइएको छ ।प्रमुख प्रशासकीय अधिकृत मिश्रले प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरीले सहयोग गर्नुपर्नेमा उल्टै कर्मचारीलाई धम्काएर पठाएको बताउनुभएको छ । नगरपालिकाका कर्मचारीलाई हातपात गर्ने तथा कार्यालयको सामान तोडफोड गर्ने व्यक्तिहरुलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गरी क्षतिपुर्ति समेत असुलउपर गर्नकालागि दिइएको जाहेरीमा अहिलेसम्म कुनै कारबाही नगरिएको मिश्राले बताउनुभयो । प्रहरीले बाराका प्रहरी प्रमुख होबिन्द्र बोगटीको निर्देशनमा उल्टै कार्यालयमा कार्यरत कर्मचारीहरुमाथि झुठा अभियोग लगाएर मुद्दा दर्ता गर्ने चेतावनी दिएपछि आफूहरु आन्दोलनमा उत्रिनुपरेको विज्ञप्तिमार्फत जनाइएको छ ।प्रमुख प्रशासकीय अधिकृत मिश्रकाअनुसार हतियार सहित आएका ६÷७ जना प्रहरीले नगरपालिका कार्यालयमा प्रवेश गरी काम गरिरहेका कर्मचारीहरुलाई अनावश्यक रुपमा सोधपुछ गर्नेर धम्काउने कार्य भएको जनाइएको छ । कार्यालयका कर्मचारीसँग प्रहरीले गरेको व्यवहारका कारण कर्मचारीहरुमा भय र त्रास पैदा भई सेवा प्रवाह गर्न समस्या भएको विज्ञप्तिमा जनाइएको छ ।त्यसैगरी कार्यालयका कर्मचारीहरुमा आत्मसम्मान र आत्मविश्वास घटेको तथा काम गर्ने वातावरण अनुकुल नभएकोले घटनामा संलग्न व्यक्तिहरुलाई कानुन बमोजिमको कारबाही नहुनजेलसम्म नगरपालिकाअन्तर्गतका वडा कार्यालय, स्वास्थ्य चौकी, नगर अस्पताल लगायत नगरपालिकाबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु मंगलवारदेखि बन्द गरिएको बताइएको छ । साथै प्रहरीको व्यवहारले गर्दा उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार नेपाल सरकार, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख बोगटी नै हुनेसमेत कर्मचारीहरुले जनाएका छन ।यता जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुपेश साहले मंगलवार नै एउटा प्रेस नोट जारी गर्दै पचरौता घटनाको बारेमा कार्यालयको ध्यानकर्षण भएको जनाएको छ ।जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता रहेका निरीक्षक साहले जिल्ला बारा पचरौता नगरपालिकाको कार्यालयबाट जारी भएको सूचना र प्रेस विज्ञप्तिप्रति कार्यालयको गम्भीर ध्यानकर्षण भएको जनाउनुभएको छ । घटनाको सम्बन्धमा उल्लेखित पालिकाभित्र भएको भनिएको कुनै पनि घटनाको सम्बन्धमा कसैबाट पनि प्रहरी कार्यालयका प्रमुखलाई जानकारी समेत नदिएको र थाहा नभएको पनि जनाइएको छ ।गत असार २५ गते प्रहरी चौकी पचरौताबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा सोही नगरपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने क्रममा शान्ति सुरक्षाको लागि पत्र साथ अनुरोध भई आएको र प्रहरी टोलीले कानुन कार्यन्वयन गराउने सिलसिलामा घटनामा संलग्न व्यक्तिहरुको सम्बन्धमा सोधपुछ गरेको विषयलाई लिएर यस कार्यालयका प्रमुखलाई कुनै जानकारी नदिई नगरपालिका जस्तो गरिमामय संस्थाले नभएका घटनालाई हुनसक्ने भनी राष्ट्र सेवक कर्मचारीहरुको सुरक्षाको विषयसँग जोडेर आम सर्वसाधारणमा भ्रम फैलाउने किसिमले नगरपालिकाको सेवा नै ठप्प पार्छु भनी प्रकाशित सूचना र विज्ञप्तिप्रति यस कार्यालयको गम्भीर ध्यानकर्षण भएको जनाइएको छ । कसैलाई पक्राउ गर्ने धम्काउने कार्यसमेत नभएको हुँदा यस्ता अतिरञ्जित र भ्रामक सामाचारबाट विचलित नभई शान्ति सुरक्षा र कानून कार्यन्वयन गराउने काममा आफूहरु थप प्रतिवद्ध रहेको प्रेस नोटमा भनिएको छ ।

Leave a Reply