वीरगन्ज,नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत स्टार्टअप तथा इनोभेसन कमिटी, खल्ती र इजी इट्सले मधेस प्रदेशलाई प्रविधियुक्त बनाउने अभियानको थालनी गरेको छ । बिहीवार वीरगन्जबाट यो अभियान थालिएको कमिटी संयोजक अनुप अग्रवालले जानकारी दिनुभयो ।महासंघले औद्योगिक तथा आर्थिक शहर वीरगन्जबाट यो अभियान थालेको बताएको छ । वीरगन्जको वीरगन्ज पब्लिक कलेजबाट शुरु भएको कार्यक्रम ४५ वटा शैक्षिक संस्थामा सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।प्रविधिको प्रयोगबारे चेतना जगाउन यस्तो अन्तरक्रिया सञ्चालन गरिएको अग्रवालले बताउनुभयो । उद्यमशीलतामार्फत मधेस प्रदेशलाई प्रविधिसँग जोड्ने र यसको उपयोग बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महासंघका प्रदेशका अध्यक्ष गणेशप्रसाद लाठले बताउनुभयो ।मधेस विश्व विद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्यले प्रविधिको उपयोगमा अवसरसँगै यसका जोखिमप्रति पनि सचेत हुनुपर्नेमा जोड दिनुभयो । खल्ती एपका बरुणप्रताप शाह, इजी इट्सका सिम्रन चौरसिया, बीपीसी कलेजका सहायक क्याम्पस प्रमुख अरबिन्द श्रेष्ठलगायतले आजको युगमा प्रविधिको आवश्यकता अपरिहार्य भएको उल्लेख गरेका थिए ।

















