निजगढ,निजगढ १३ डम्बरपुरमा सोमवार राति आएको हात्तीले खाएर स्थानीय किसानले लगाएको मकै र केरा बालीमा क्षति गरेको छ ।पर्सा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीको बथानले खाएर स्थानीय दिपक न्यौपानेलगायतले बारीमा लगाएको मकै बाली र पाक्ने बेला भएको केरा खाएर नष्ट पारेको हो । हात्तीले गाउँलेको करिब १ बिगाहा क्षेत्रको मकैबाली र १२ कठ्ठाको केराबालीमा खाएर लाखौं रुपैया बराबरको क्षति गरेको निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सूर्य घलानले जानकारी दिनुभयो । उहाँले हात्तीको बथानले खाएर र कुल्चिएर बाली नष्ट पारेको हो । बारीमा लगाएको घेराबारा भत्काएर राति ९ बजेतिर बारीमा पसेको हात्तीको बथान भोलिपल्ट बिहानीपखमात्रै जंगल फर्किएको स्थानीयहरुले बताएका छन ।

बस्तिमा हात्ती पसेपछि सुरक्षा प्रबन्ध माग गर्दै स्थानीयले पर्सा राष्ट्रिय निकुञ्ज र सब डिभिजन वन कार्यालय रतनपुरीका कर्मचारीहरुलाई तत्कालै जानकारी गराएको भएपनि कुनै सहयोग नपाएको स्थानीय संचारकर्मी उमेश घलानले बताउनुभयो ।रतनपुरी सब डिभिजन वन कार्यालयका प्राविधिक हरेन्द्र कुशवाहाले बच्चासंगै लिएर आएको हात्तीको बथानले किसानले खेतमा लागएको केरा र मकै बाली खाएर नष्ट पारेको बताउनुभयो ।

पर्सा राष्ट्रिय निकुञ्जको जंगल विस्तार गरेपछि रतनपुरी क्षेत्रमा जंगली जनवारहरुले दुख दिने क्रम बढेको छ । केही समयअघि सोही क्षेत्रमा स्थानीय किसानले पालेका दर्जनौं चौपाया बाघले मारेको थियो भने हात्तीले किसानले लगाएको बाली खाएर बर्षेनी ठूलो धनमालको क्षति गर्ने गरेको छ ।

Leave a Reply