सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाभित्रका धार्मिक स्थलको अवलोकन गर्दै बारा कोरा २०२४ आइतवार सम्पन्न भएको छ ।सिमराको रामजानकी मन्दिरबाट सुरु भएको उक्त कोरा च्यालेन्ज मधेस स्मारक, गढीमाई, श्रीराम जानकी मन्दिर जीतपुर, नगौल हुँदै मुसहर्नीमाई, छठिघाट, पथलैया पशुपति मन्दिर, डुमरवाना, रजघट्टा, औराह कृष्णमन्दिर, सिमरा गुम्बा हुँदै सिमरा पार्कमा आएर सम्पन्न भएको थियो ।
साइकल चढेर धार्मिक स्थललाई घडीको सुईको दिशामा घुम्नुलाई कोरा भनिन्छ । यस्तो कोरा विश्वभर आयोजना हुने गरेको छ । साइकल चढेर धार्मिक स्थलको प्रवद्र्धन गरौं भन्ने उदेश्यका साथ बारा राईडर्स संघले कोराको आयोजना गरेको हो ।
वातावरणमैत्री र स्वास्थ्यका लागि उपयुक्त साधनका रुपमा लिने गरिएको साइकल चढेर संघले प्रत्येक वर्ष कोराको आयोजना गर्दै आएको छ । यस वर्षको कोरामा साइकलयात्रीले ४० किलोमिटरको यात्रा पूरा गरेका छन ।सिमरामा जीतपुरसिमराका नगर प्रमुख राजन पौडेलले कोराको उद्घाटन गर्नुभएको सो कोराको मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले सिमरामा समापन गर्नुभएको थियो ।
कोरामा बारासहित मकवानपुर, चितवन, काठमाडौंलगायतका जिल्लाबाट एक सय ५० जना भन्दा बढीको सहभागिता रहेको थियो । कोराका सहभागीलाई विभिन्न धार्मिक स्थलमा जनप्रतिनिधि र स्थानीयले स्वागत गरेका थिए ।
जीतपुस्थित श्री बंगाली बाबा युगधर्म आश्रममा मधेस प्रदेशसभा सदस्य चौधरीसहित स्थानीय अगुवाहरु सञ्जय साह, शिवजी साह, रामबाबु कलवार, शेखर भण्डारी, सन्तोष कुशवाहालगायतले टिका लगाएर सहभागीको स्वागत गरेका हुन । रामवनमा वडा सदस्य चिनबहादुर पाख्रिन, पथलैया पशुपति मन्दिरमा लायन्स क्लब अफ सिमरा जागरण, रजघट्टामा जीतपुरसिमरा १४ की अध्यक्ष चयन गुरुङले स्वागत गर्नुभएको थियो ।



















