निजगढ,बारा जिल्ला पछिल्लो समय नक्कली नेपाली नोटको कारोबार बढदै गएको पाइएको छ ।मधेस प्रदेशका जिल्ला ८ जिल्लामध्ये नक्कली कारोबार हुनेमा बारा दोस्रो स्थानमा परेको छ । मधेसमा रौतहट जिल्ला सबैभन्दा बढी जाली नोटको कारोबार हुने हो ।बारा जिल्लाबाट प्रहरीले गएको आर्थिक वर्ष १३ लाख ८९ हजार ५ सय रुपैयाँ बराबर नेपाली जाली नोट बरामद गरेको छ । सोही अवधिमा बाराबाट नक्कली नोटको कारोबार गर्ने १२ जना पक्राउ परेका छन ।

मधेस प्रदेशमा रौतहट जिल्ला सबैभन्दा धेरै परिमाणमा नक्कली नेपाली नोट बरामद भएको प्रहरीको अभिलेख छ । प्रहरी तथ्याङ्क अनुसार रौतहटपछि बाराबाट बढी जाली नोट फेला परेको हो ।
प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०८०÷०८१ मा रौतहट जिल्लाबाट झण्डै २० लाख रुपैयाँ परिमाणको नेपाली नक्कली नोट बरामद भएको छ ।
त्यसैगरी पर्सा र सर्लाही जिल्ला पनि नक्कली नोटको कारोबारमा उर्वर देखिएको छ । अघिल्लो आर्थिक वर्ष पर्साबाट १ लाख ६४ हजार र सर्लाहीबाट १६ हजार ८२० रुपैयाँ नेपाली नक्कली नोट बरामद भएको थियो ।प्रहरीले उपलब्ध गराएको एक तथ्याङ्कमा प्रदेशका बारा, रौतहट, पर्सा र सर्लाही जिल्लाबाट गएको एक वर्षमा करिब ३५ लाख ८६ हजार रुपैयाँ नक्कली नेपाली नोट बरामद भएको छ ।

सो अवधिमा प्रदेशभरबाट एक महिलासहित ३८ जना नक्कली नेपाली नोटसहित पक्राउ परेका थिए । तीमध्ये रौतहटबाट मात्रै १६ जना पक्राउ परेका हुन् ।रौटहटबाट धेरै नेपाली नक्कली नोट बरामद हुन थालेपछि मधेस प्रहरीले जिल्लालाई ‘रेड’ सूचीमा राखेको छ । खासगरी भारतबाट नेपाली नक्कली रुपैयाँ नेपाल भित्रिन थालेको मधेस प्रदेश प्रहरीको आकलन छ । त्यसमा पनि रौतहटमा यसको सञ्जाल बढी देखिएको प्रहरी स्रोत बताउँछ ।खुला सीमानाको कारणले मधेसमा नेपाली नक्कली नोटले बरामद भइरहेको प्रहरी दाबी छ । बरामद भइरहेको नेपाली नक्कली नोटका कारणले प्रहरीलाई झस्काइदिएको प्रदेश प्रहरीको भनाई छ । प्रदेश प्रहरी प्रवक्ता सुवासचन्द्र बोहराले मधेसमा पछिल्लो समय नेपाली नक्कली नोट बढी बरामद भइरहेको बताउनुभयो ।

Leave a Reply