वीरगञ्ज,प्रहरीले पर्सा र सर्लाहीबाट २४ लाख मूल्य बराबरको लसुन बरामद गरेको छ ।पर्साको विन्दावासिनी गाउँपालिका वडा नम्बर ३ झौवाबाट प्रहरीले पाँच लाख मूल्य बराबरको लसुन बरामद गरेको छ । झौवामा रहेको एक कुखुरा फर्ममा भण्डारण गरी राखेको अवस्थामा प्रहरीले एक सय दुई बोरा लसुन बरामद गरेको हो ।
प्रहरीका अनुसार एक हजार सात सय ८० किलो लसुन बरामद भएको र सो को मूल्य करिब चार लाख ८० हजार ६ सय रहेको छ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उक्त लसुन बरामद गरेको पर्साका प्रहरी प्रवक्ता दीपक भारतीले जानकारी दिनुभयो । बरामद लसुन वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
यस्तै सर्लाही प्रहरीले भारततर्फ तस्करीका लागि सीमावर्ती क्षेत्र ब्रम्हपुरीबाट लहसुन लोड भएको ट्रकलाई नियन्त्रणमा लिएको छ ।
सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा नम्वर ५ सखुअवा टोलस्थित नेपाल भारत सीमा क्षेत्रबाट प्रदेश ०२–०४–००१ ख ००६९ नम्वरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।चेकजाँच गर्दा ट्रक भित्र ९.५ टन लहसुन रहेको र चालकले दिएको बिलबिजकमाथि शंका लागेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको हो ।बरामद गरिएका लहसुनको बजार मूल्य १९ लाख र ट्रकको मुल्य २१ लाख गरी ४० लाख मूल्य कायम गरेर आवश्यक कारवाहीका लागि मलंगवा भन्सार कार्यालयमा दाखिला गराइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

















