निजगढ,वन संरक्षणमा उत्कृष्ट कार्य गरेबापत निजगढ नगरपालिका वडा नम्बर ७ स्थित जनज्योति सामुदायिक वन उपभोक्ता समूहले १ लाख राशीको गणेशमान सिंह सामुदायिक वनको प्रथम पुरस्कार प्राप्त छ ।सामुदायिक वन दिवसको अवसरमा वन तथा भू संरक्षण विभागले शुक्रवार एक कार्यक्रमबीच गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्रदान गरेको हो । विभागले काठमाण्डौंमा आयोजना गरेको कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जनज्योति सामुदायिक वन समूहका अध्यक्ष खडगबहादुर लामासहित कार्यसमितिका पदाधिकारीहरुलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

देशभरिका सामुदायिक वन मध्ये वन संरक्षण, संवद्र्धन, वनको दीगो उपयोग, वातावरण तथा जैविक विविधता संरक्षण र गरिवी निवारणमा समेत पुर्याएको योगदानको कदर गर्दै समूहलाई ०८१-०८२ सालको पुरस्कार प्रदान गरिएको हो । पुरस्कार वितरण कार्यक्रममा सहभागी हुन समूहका अध्यक्ष लामासहित उपाध्यक्ष रत्नकुमारी बर्तौला, सचिव रामकुमार सिंजाली, सहसचिव निर्मला आचार्य, कोषाध्यक्ष भवानी श्रेष्ठसहितको टोली काठमाण्डौं पुगेको थियो । सो समूहले यसअघि ०६९ सालमा पनि गणेशमान सिंह सान्त्वना पुरस्कार प्राप्त गरेको थियो ।वन विभागले देशभरिबाट उत्कृष्ट कार्य गर्ने ५ वटा वन समूहलाई हरेक वर्ष प्रथम, व्दितीय, तृतीय र सान्त्वना पुरस्कार प्रदान गर्दैआएको छ । जनज्योति वन समूहले प्रथम पुरस्कार पाउँदा यो वर्ष झापा र रुपन्देहीका वन समूहहरुले क्रमस व्दितीय र तृतीय पुरस्कार पाएका छन ।

समूहका अध्यक्ष लामाले सबै उपभोक्ताहरुको लगन र मेहनतबाट पुरस्कार प्राप्त भएको बताउनुभएको छ । कार्यसमितिको निर्णय र योजना अनुसार वनको संरक्षण र दिगो प्रयोगमा उपभोक्ता सदस्यहरुले सक्रियताका साथ काम गरेकोले यो सफलता मिलेको उहाँको भनाई छ ।३८७ हेक्टर क्षेत्रमा फैलिएको जनज्योति सामुदायिक वन समूहमा ४ सय ३४ घरधुरी उपभोक्ता सदस्य रहेका छन । ०६६ सालमा हस्तान्तरण भएर उपभोक्ताहरुले संरक्षण गर्नथालेपछि सो वनमा डढेलो, चोरी सिकारी र काठको तस्करी रोकिएको छ ।

Leave a Reply