कलैया,बाराको महागढीमाई नगरपालिका बरियारपुरस्थित गढीमाई मन्दिरमा लाग्ने पंचवर्षिय मेलामा यो वर्ष पशुबलीको साटो फलफूल तथा नरिवल र मिठाइँ चढाउने अभियान शुरु भएको छ ।सात्विक गढीमाई अभियानले कलैयामा एक मिडियाको भूमिकासम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर अभियानको शुरुवात गरेको हो । नेपाल र भारतका संचारकर्मीहरुको सहभागिता रहेको सो कार्यक्रममा पशु कल्याण संघ नेपालका अध्यक्ष स्नेह श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्दै पशुको बली दिने ठाउँमा नरिवल, फलफूल, मिठाइँ, चुनरीलगायत प्रसाद चढाउन भक्तजनहरुसंग अपिल गर्नुभएको छ । उहाँले भन्नुभयो, “पशु पनि एउटा मानव जस्तै प्राणी हो, उसलाई पनि चोटपटक लाग्दा दुख्ने हुन्छ, उ केवल बोल्न मात्र सक्दैन, त्यसैले हामीले संरक्षण गर्नु पर्छ ।’
यसको लागि संचार माध्यमहरुको भूमिका महत्वपूर्ण हुने उहाँको भनाई थियो ।‘बली पशुको होइन, अन्धविश्वासको दिआंै’ भन्ने नाराका साथ भएको सो कार्यक्रममा महागढीमाई नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत विजय कुशवाहाले पशुबली होइन सात्विक पूजापाठलाई मायन्ता दिनका निम्ति पशु कल्याण संघ नेपाललाई निरन्तर रुपमा जनचेतनामूलक कार्यक्रममार्फत लागि रहन सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘विश्व प्रसिद्ध शक्तिपीठ गढीमाईप्रति जसरी आस्था विश्वास राखी भक्तजनहरुले भाकाल गर्ने गरेका छन्, त्यसरी नै सात्विक पद्धतिलाई पनि मान्यता दिन सक्नुपर्छ ।’ उहाँले पंचवर्षीय मेलामा भाकाल स्वरुप ल्याइने राँगा, बोका, परेवा आदि पशुपंक्षीको साटो नगद दान गरी पुण्य कमाउन सकिने र यसको प्रचारप्रशारमा मिडियाकर्मीहरुले अहम भूमिका हुने बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका सदस्य शैलेन्द्र झा, नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहता, पूर्वराज्य मन्त्री कलावती पासवान, जन भन्डाफोर दैनिकका कार्यकारी सम्पादक जगत राई तथा भारतका पत्रकार र अन्य पत्रकारहरुले आ–आफ्नो सुझाव राखेका थिए । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ बारा जिल्ला कार्यसमिति सदस्य नरेश गुप्ताले गर्नुभएको थियो ।कार्यक्रममा सहभागी संचारकर्मीहरुले सात्विक गढीमाई अभियानको सकारात्मक सन्देश फैलाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने सुझाव दिएका छन् ।प्रतेक ५÷५ वर्षमा १ महिनासम्म लाग्ने गढीमाई मेला यस वर्षको मंसिरबाट शुरु हुदैछ । मानोकाक्षा पूरा हुने विश्वासमा मेलामा श्रद्धालुहरुले हजारौं पशुपंक्षीको बली दिने गर्दैआएका छन ।

















