सिमरा,डिभिजन वन कार्यालय बारा सिमराबाट खटिएको गस्ती टोलीले बाराको करैयामाई गाउँपालिका वडा नम्बर ७ मा रहेको एक चिरान मिलमा छापामारी गरी करिब एक सय क्युफिट काठ नियन्त्रणमा लिएको छ ।राष्ट्रिय वन क्षेत्रमा चोरी कटानी गरी राखिएको अवस्थामा सव डिभिजन वन कार्यालय मधुवनबाट गएको टोलीले पिपरास्थित चिरान मिलमा छापामारी साल प्रजातिको ८ थान, सिसौका ३ थान, टिक २ थान र सालको चिरान कडी १० थान गरी करिब १ सय क्युफिट बरामद गरेको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।

सव डिभिजन वन कार्यालय मधुवनका वन अधिकृत सञ्जयकुमार चौधरीको कमान्डमा जनपद प्रहरी, सशस्त्र प्रहरी र सशस्त्र वन रक्षक सहितको टोली आइतवार चिरान मिलमा पुगेर घेराबन्दी गरी खोजतलास गर्ने क्रममा चोरी तस्करीको सोे काठ फेला परेको हो ।सोही क्रममा मिलको आसपासमा रहेको केही घर, खेत तथा आँगनको अगाडिबाट बेवारिसे अवस्थामा राखिएको काठ नियन्त्रणमा लिएको छ ।नियन्त्रणमा लिएको काठ आफ्नो भएको दाबी गर्न कोही नआएको वन कार्यालयले जनाएको छ । मधुवन सव डिभिजनका प्रमुख अब्दुल करिमले काठ नियन्त्रणमा लिएको चिरान मिल रामधामी कुर्मीको रहेको बताउनुभएको छ ।

उहाँले जङ्गलमा काटिएको रुखको अनुसन्धान गर्दै जाँदा काठ चिरान मिलमा फेला परेको र साइकलको चक्काको चिन्हलाई पछ्याउँदै जाँदा विशेष सुराकीको आधारमा काठ बरामद गर्न सफल भएको बताउनुभयो ।
बरामद भएको काठ सब डिभिजन वन कार्यालय मधुवनमा राखिएको छ ।

Leave a Reply