बसन्त लामा
सिंगौल,निजगढ नगरपालिका वडा नम्बर १ स्थित धनसार खोला झोलुङे पुलको निर्माण कार्य रोकिएको छ ।
सिंगौलको वनस्थली हाट बजारबाट रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका अरुणवस्ति जोडने भालुघाटमा झोलुङे पुलको ७० प्रतिशत निर्माण कार्य पूरा भएर पनि थप काम अघि बढन नसकेको हो । उपभोक्ता समितिले गर्ने कार्य सम्पन्न भइसकेको अवस्थामा निर्माण सामाग्री खरिद गर्न नगरपालिकाले समयमै टेन्डर नलाउँदा निर्माण कार्य समयमै पूरा हुन नसकेको हो ।
नगरपालिका कार्यालयले झोलुङे पुलको लागि आवश्यक टावर जाली र प्लेट खरिदको लागि समयमै टेन्डर गर्न नसकेको स्थानीयले बताएका छन ।निजगढ नगरपालिका कार्यालय र सहयोगी संस्था हेल्पटाँबीच २०७९ सालमा दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी पुल निर्माण कार्य शुरु भएको थियो ।
पुल निर्माण कार्य समयमै पूरा हुन नसक्दा सिगौल र छिमेकी जिल्ला रौतहटका स्थानीयलाई बर्खा लागेपछि नदीबाट आवतजावतमा कठिनाइ हुदैआएको छ । खोलामा पुल अभावमा रौतहटको अरुणवस्ती, पुरानो नर्सरी, इपिल बस्तीबाट सिंगौलका विद्यालयहरुमा अध्ययन गर्न आउने विद्यार्थीले सबैभन्दा बढी समस्या बेहोर्नु परेको छ ।निजगढ वडा नम्बर १सिंगौलस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा सोक्षेत्रबाट अध्ययनको लागि ठूलो संख्यामा विद्यार्थीहरु आउने गरेका छन । विद्यालयका विद्यार्थीमध्ये ८० प्रतिशतभन्दा बढी विद्यार्थी धनसार नदी पारिको बस्तिबाट आउने गरेका हुन । तर बर्षा लागेपछि धनसार खोलामा बाढी आउने र पुल नहुँदा बाढी तर्न नसकेर विद्यार्थीहरु हप्तौसम्म घरमै बस्न बाध्य हुने गरेको स्थानीय इन्द्रलाल थिङ्गले बताउनुभयो ।

















