पानीलाई अमृतको रुपमा मानिसले मात्र होइन, जन्तु जनावरहरुले पनि लिएको देखिन्छ । किनभने पानी भएन भने प्राणीको कुरा छाडौं, वनस्पति पनि बाँच्न सक्ने अवस्था हुदैन ।मानिसकै कुरा गर्ने हो भने पनि दिनभरमा अन्य कुराभन्दा मानिसले पानी कै बढी प्रयोग गरिरहेको हुन्छ तैपनि मानिस मानिसको शुद्धताका सवालमा भने गैरजिम्मेवार बनिरहेको हुन्छ । यहाँ सबैलाई यस्तो आरोप त लगाउन खोजिएको होइन तर मानिसले गर्ने बदमासीको मारमा अन्य प्राणीहरु परिरहेका छन् । आफ्नो घर छेऊका नदी, नालाहरुको संरक्षण गर्नु त मानिसको कर्तव्य हो ।
तर मानिस फोहोर गर्छ र आफ्नो मात्रै स्वार्थ हेर्ने गर्दछ । जस्तै वीरगञ्जको पवित्र नदी सिर्सियाकै कुरा गर्ने हो भने पनि यो निकै पवित्र नदी हो । यति मात्र होइन, यो नदीको वीरगञ्ज क्षेत्रका नागरिकहरुका लागि अति आवश्यक पनि छ । वास्तवमा यही नदीको कयौंको प्राण बचेको छ तर पछिल्ला केही दशकदेखि भने यो नदीलाई निकै दूषित बनाएको छ ।
स्थानीय केहीसहित मुख्य त यो नदी आसपासमा खुलेका उद्योगधन्दाहरु नै दोषी छन् । उनीहरुले नदीको कत्लेयाम गरिरहेका छन् ।
अहिले वीरगञ्ज महानगरपालिकाले नदीको संरक्षणका लागि कुरा गरेपनि यो सबैको चिन्ताको विषय हुनुपर्दछ । उद्योगहरुले जथाभावी गर्नु नै हुदैन । नदीमा फोहोर गर्नाले एकदिन आफूले पनि यसको क्षति भोग्न पर्छ भन्ने कुरा उनीहरुले बुझ्न आवश्यक छ ।उद्योगको गेटमा लगेर फोहोर फाल्दैमा समस्या समाधान हुने त होइन तैपनि स्थानीय सरकार पनि आजित भएर नै यसो गर्न बाध्य भएको होला जे भएपनि सिर्सिया नदीलाई सफा राखौ । यसतर्फ सबैले ख्याल गरौं ।