वीरगञ्ज,वीरगञ्जको हरि खेतान बहुमुखी क्याम्पसमा व्यवस्थापन र शिक्षकबीचको विवादका कारण कक्षा ११ र १२ को परीक्षा रोकिएपछि आक्रोशित बनेका विद्यार्थीहरुले सुरु गरेको आन्दोलन स्थगित भएको छ ।

आज दिनभर चलेको प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारी भोला दाहालको रोहबरमा क्याम्पस व्यवस्थापन, शिक्षक प्रतिनिधि र विद्यार्थी अगुवाहरूबीच जिल्ला प्रशासन कार्यालयमा साँझ बसेको बैठकमा सहमति बनेपछि प्रदर्शन स्थगित गरिएको हो ।
बैठकमा आइतबारदेखि स्थगित गरिएको परीक्षा र नियमित पठनपाठन तत्काल सञ्चालन गरिने, आन्दोलनका क्रममा घाइते भएका विद्यार्थीहरूको उपचारको व्यवस्था क्याम्पस प्रशासनले मिलाउने र विद्यार्थीका बाँकी माग तथा समस्याहरूबारे सोमबार पुनः जिल्ला प्रशासन कार्यालयमै बैठक बस्ने सहमति भएपछि प्रदर्शन स्थगित भएको बताइएको छ ।
परीक्षा दिन क्याम्पस पुगेका विद्यार्थीहरूलाई मुख्य गेटमै रोकेर शिक्षकहरूको आन्दोलनका कारण परीक्षा हुन नसक्ने जानकारी दिइएपछि उनीहरू बिहानैदेखि सडकमा उत्रिएका थिए ।प्रदर्शनका क्रममा स्थिति तनावपूर्ण बनेपछि प्रहरीले लाठी चार्ज गरेको थियो भने तीन जना विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो । लाठी चार्जबाट एक विद्यार्थी घाइते भएपछि प्रदर्शन झन् उग्र बनेको थियो ।

आक्रोशित विद्यार्थीहरू नाराबाजी गर्दै घण्टाघर चोक पुगेर सडक अवरुद्ध पारेका थिए । उनीहरूले सडकमा टायर बालेर नजिकैको जिल्ला प्रशासन कार्यालयतर्फ जाने प्रयाससमेत गरेका थिए । विद्यार्थीहरुले क्याम्पस भवन अगाडि पुनः प्रदर्शन समेत गरेका थिए । यस क्रममा क्याम्पसको बसमा तोडफोड गरिएको थियो भने सहर सौन्दर्यीकरणका लागि फुटपाथमा रोपिएका केही बिरुवा पनि भाँचिएका थिए ।
प्रदर्शनकारीहरूले क्याम्पस प्रमुखलाई भगाएको आरोप लगाउँदै एक युवकलाई घेरा हालेर निर्घात कुटपिट समेत गरेका थिए । घटनापछि सहर भरि नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति राखिएको थियो ।

कक्षा १२ का विद्यार्थी ओशष साहले विगत एक वर्षदेखि व्यवस्थापन र शिक्षकबीचको द्वन्द्वका कारण आन्तरिक परीक्षा समेत हुन नसकेको, पढाइ प्रभावित भएको र आफूहरूको भविष्य बरबाद भइरहेको गुनासो गरे । परीक्षा दिनबाट समेत वञ्चित पारिएपछि बाध्य भएर सडकमा उत्रिनुपरेको उहाँको भनाई थियो ।

ठाकुरराम बहुमुखी क्याम्पसका स्ववियु सभापति राजकुमार यादवले पनि प्रदर्शनमा सहभागी हुँदै हरि खेतान क्याम्पसलाई निजीकरणतर्फ लैजाने प्रयास भएको र व्यवस्थापन–शिक्षकको आपसी द्वन्द्वले विद्यार्थीको शैक्षिक भविष्य जोखिममा परेको बताउनुभयो ।
यता क्याम्पस सञ्चालक समितिका सल्लाहकार जयप्रकाश खेतानले भने शिक्षकहरूले नाजायज माग राखेर आन्दोलन गरेको र विद्यार्थीलाई उचालेको आरोप लगाउनुभएको छ ।

Leave a Reply